|

काठमाडौँ: स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्नका लागि चारवटा टोली खटाएको छ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा टोली पठाइएको जानाकारी दिएका हुन्। मन्त्रालयले विराटनगर, जनकपुर, रौतहट र नेपालगञ्जमा गरी चारवटा टोली पठाएको हो।

विराटनगरमा डा. गुणनिधि शर्मा, जनकपुरमा भीम सापकोटा, रौतहट र सर्लाहीमा सागर घिमिरे र नेपालगञ्जका लागि परशुराम श्रेष्ठलाई पठाइएको मन्त्री पोखरेलले बताए।

सो टोलीले स्थानीय तहको स्वास्थ्य अवस्था अध्ययन गर्ने, आवश्यक औषधि उपचारका लागि केन्द्रसँग समन्वय गर्ने र सोहीअनुसार प्रभावित क्षेत्रमा सहयोग गरिने मन्त्री पोखरेलले बताए।

उनले भने, 'हामीले बाढी प्रभावित मुख्य चार क्षेत्रमा टोली पठाइसकेका छौँ। उहाँहरूले त्यहाँको अवस्थाअनुसार काम गर्नुहुन्छ।'

यस्तै, बाढी प्रभावित सम्पूर्ण जिल्लाहरूका जिल्ला अस्पतालमा सात दिनसम्म नि:शुल्क उपचार गरिने पनि मन्त्री पोखरेलले बताए।

बाढी पहिरोपीडितको सहयोगका लागि हटलाइन सेवा

स्वास्थ्य मन्त्रालयले बाढी पहिरोबाट प्रभावितहरूकाे सेवामा सजिलोका लागि हटलाइन सेवासमेत सञ्चालन गरेको छ। मन्त्रालयले स्वास्थ्यलगायतका अन्य सेवा आवश्यक परे मोबाइल नम्बर ९८५१०९६०८९ मा सिधै सम्पर्क गर्न व्यवस्था मिलाएको छ। हटलाइन नम्बर ०१–४१००१८७ र ०१–४२६२२६८ को पनि व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले बाढी पहिरोपीडितलाई सरुवा रोगको जोखिम हुने भएकाले यस्तो व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।

सो हटलाइन सेवा बिहान साढे नौ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने र बाढी पहिरो प्रभावित क्षेत्रको गतिविधिको जानकारी आदानप्रदान गर्न सकिने मन्त्री पोखरेलको भनाइ थियो।

आपतकालीन केन्द्रमा २४सै घण्टा सम्पर्कमा रहन सत्य आचार्य, भीम सापकोटा, लक्ष्मी मरासिनी, सञ्जीव गौतम र उपेन्द्र केसीलाई खटाइएको समेत मन्त्रीले बताए।

यस्तै, महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यको माथि उल्लेखित नम्बरमा फोन गरे उनले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउनेसमेत मन्त्रीले बताए।

बाढीका कारण हालसम्म बाँकेमा दुईवटा, जलेश्वरमा एउटा र रौतहटमा दुईवटा स्वास्थ्य संस्था प्रभावित भएको र सम्पूर्ण विवरण आउन बाँकी रहेकाले दुईचार दिनपछि क्षतिको विवरण आएपछि बाढी प्रभावितको सेवालाई योजना बनाएर अगाडि बढ्ने मन्त्री पोखरेरले बताए। साथै मन्त्रालको र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.