|

काठमाडौं : किरात वाम्बुले राई भाषाको २५ औं कविता प्रतियोगितामा कवि मङ्गल दर्शन राई  प्रथम भएका छन्।

आज(बिहीबार) वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २७औँ स्थापना दिवसका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ स्थित दाम्लीमा आयोजित २५औँ कविता प्रतियोगितामा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा-६ का उनी प्रथम भएका हुन्।

प्रतियोगितामा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-२ का कवि सुस्मिता राई द्वितीय र हलेसी तुवाचुङ नगरपालिका-२ का कवि जीवराज राई तृतीय भएका छन्।

हलेसी तुवाचुङ नगरपालिका-१ का कवि महावीर वाम्बुले राई र मानेभञ्ज्याङ-५ का कवि विजय राईले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार र सान्त्वना हुने दुईजनालाई २–२ हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरियो।

वाम्रासले यस वर्षको उक्त कविता प्रतियोगिताको लागि ‘पिलुम्बा’ शीर्षक तोकेको थियो। उक्त प्रतियोगितामा २३ जना प्रतिस्पर्धी थिए। १६ वटा अप्रतियोगी कविता थिए।​

वाम्रासका केन्द्रीय अध्यक्ष गजुरधन राईले वाम्रास संस्थाले वाम्बुले राईको भाषा संरक्षणका निम्ति  प्रत्येक वर्ष कविता प्रतियोगिता आयोजना गर्दै आएको बताए। उनले भने, ‘हाम्रो भाषा, कला, संस्कार बचाइराख्नु पर्छ,यो जीवन्त हुनुपर्छ,पुस्तान्तरण हुनुपर्छ। त्यसैले वाम्रासले कार्यक्रम आयोजना गर्दै आएको छ। हामी सबै समुदाय मिलेर भाषा संरक्षणमा लाग्नु पर्छ।’

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार ब्याकुल माइलाले हालसम्म वाम्रासले वाम्बुले राई भाषामा कविता प्रतियोगिता,वाम्बुले बासुरी दिवस, ढ्वाङकुमो आयोजना गर्दै भाषा संरक्षणसँगै प्रवर्धन गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.