काठमाडौँ : मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरेर छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय खारेज गर्दै पक्राउ गरेर छानबिन गर्न रिट निवेदन दर्ता भएको हो।
यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता नहुने भन्दै दरपीठ आदेश गरेको थियो। दरपीठ आदेशलाई इजलासले बदर गरिदिएपछि रिट निवेदन दर्ता भएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पैसा तिरेर जापान जानेहरूलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेकामा उनीहरूलाई लिएर गएको आरोप लागेका मन्त्रीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो।
यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका हुन्। रिटको सुनुवाइ मङ्सिर २३ गतेका लागि तोकिएको छ।
रिटमा अधिकारीमाथि छानबिन गरी अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्चसँग परमादेशको माग गरिएको छ। अधिकारीविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ।
रिट सुनुवाइको प्रक्रियामा गएर न्यायालयले मुद्दा फिर्ताको निर्णय बदर गरे अधिकारीलाई पुनः पक्राउ गरी अनुसन्धान अघि बढ्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।