|

कैलाली : यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेको छ। नयाँ अन्न भित्र्याइसकेपछि  प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो  समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ।  

थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ। लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाममारोगव्याधि नलागोस् भनेर पूजा गरिन्छ। भजहर पूजा ग्रीष्मऋतुको पूर्वसन्ध्यामा हुने गरेको छ।  

अन्नसँग जोडिएकाले पनि लवाङ्गी पूजाको महत्व छ। विशेषगरी कैलालीको घोडाघोडी मन्दिरमा थारूहरूको लवाङ्गी पूजा हुने गरेको छ। पश्चिम नेपालका थारू समुदायको सबैभन्दा ठूलो देउथान घोडाघोडीलाई मानिन्छ। घोडाघोडी मन्दिरलाई थारू समुदायले घोरीघोरा देउथानका रूपमा मान्दै परापूर्वकालदेखि लवाङ्गी पूजा गर्दै आएको चौधरीले बताए। देउताको बास भएको ठाउँमा बलि दिएर पूजा गरिन्छ, त्यो देउथान हो। यो क्षेत्रमा परापूर्वकालदेखि नै बलि दिएर पूजा गरिन्छ त्यसैले यो घोरीघोरा देउथान हो। मन्दिर होइन। 

लवाङ्गी पूजाको अघिल्लो रात थारू गुरुवाहरूले ढाक बजाउने, धामी बस्ने गरेको घोडाघोडी नगर भल्मल्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए। पूजाका दिन बिहान मन्दिरमा देउतालाई छाँकी (रक्सी), चढाई कुखुरा, सुँगुरलगायत पशुबलि दिइन्छ। मुख्य गुरुवाले पूजा गरेपछि सहभागी भल्मन्साहरूले भोग दिएपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिइन्छ। 

घोडाघोडी मन्दिरमा पूजा गरिसकेपछि आ-आफ्नो गाउँको मरुवामा पूजा गर्ने प्रचलन छ। पूजाका अवसरमा  घोडाघोडीमा थारू संस्कृति संरक्षणका लागि सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, माङ्गरलगायत प्रस्तुति भइरहेको अध्यक्ष चौधरीले बताए। कञ्चनपुर, बाँके, बर्दिया, दाङलगायत स्थानबाट समेत यहाँ आउने गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.