|

 विराटन: कुनै समय रेडियो नेपालमा प्रसारण हुने कार्यक्रम ‘संगीत सरोवर’ लोकप्रिय थियो।  

रेडियो नेपालका हालका कार्यकारी निर्देशक अमरध्वज लामाले करिब १७ वर्ष निरन्तर रेडियो पत्र शैलीमा सगीत सरोवर प्रस्तुत गरिहेका थिए ।

 रेडियोमा सुनिने उनको मधुर आवाजसँगै कार्यक्रमको पृष्ठभूमिमा बझ्ने ‘ओ सरु आँखामा साउन नझार बिपनादेखि थाकेर जीवनको सपना नमार’ गीतले सुनमा सुगन्ध थपिए झैँ महशुस हुन्थ्यो।

जगदीश समालको स्वरमा रहेको गीत सूयर्माराज राईको रचना रहेको छ। अक्सर रचनाकारहरु सँधै नेपथ्यमा नै रहने भएकाले गीतकार सधैँ ओझेलमा नै हुन्छन्। गायकको चर्चा चुलिरहेको बेला शब्दहरु रच्ने गुमनाम नै हुन्छन्।

त्यसैले पनि रेडियो नेपालबाट प्रसारित कार्यक्रम संगीत सरोवरको ‘ब्यागराउण्ड’ धुनमा गीत बज्दै गर्दा गीतको रचनाकार को होला? भन्ने खोजी नभएको हुँदो हो।

 हुन त आफ्नो पहिचान कसैको समक्ष सार्वजनिक नभए पनि आफूले लेखेको गीत सबैको कानमा गुन्जिएको कुराले लेखक गुमनाम हुने रहेछ भन्ने कुरामा  सूयर्मा आफैँले पनि महसुस गरेका छन्।

गीत, संगीत र साहित्य क्षेत्रमा रुचि राख्ने नेपाली काँग्रेसका नेता सूर्मामा पूर्वसांसद हुन्। उनी मोरङ निर्वाचन क्षेत्र–३ बाट निर्वाचित भएका थिए। उनको विगत खोतल्ने हो भने लेखन क्षेत्रमा अगाडि देखिन्छन्। हाल प्रकाशित भइरहने कविताहरुले पनि उनको विगत थाहा हुनेहरुलाई लेखन क्षेत्रमा पनि लगाव छ भन्ने महसुस गर्न सक्छन्।

२२ वर्षको उमेरमा रेकर्डिङ भएको उनको गीत र रेडियो नेपालमा बज्ने कार्यक्रममा लामाले सम्बोधन गर्ने ‘ओ ’ सरु संयोगले मिल्न जाँदा गीतले रेडियो नेपालमा स्थान पाएको उनी सुनाउछन्।  त्यसो त उनी र अमरध्वजको भेट गायक जगदीश शमालले नै गराएका थिए।

‘म गीत रेकर्ड गर्न काठमाण्डौं गएको थिए, त्यहाँ पुग्दा गायक जगदीश समालसँग भेट भयो, एउटा संयोग के भने मेरो रेकर्ड भएको गीत र रेडियो नेपामा प्रशारण हुने संगीत सरोवरमा अम्मरध्वज लामाले उच्चारण गर्ने शब्द ‘ओ’ सरु भन्ने मिल्न गयो,’ उनले विगत सुनाउदै भने,‘ अनि गायक शमालले हामी दुईजनालाई भेट गराउनुभयो र यो गीत उहाँले पनि मन पराउनुभयो झण्डै डेढ दशकभन्दा बढी मेरो गीत रेडियो नेपालमा बज्यो।’

 श्रोताहरुले निक्कै मन पराएको कार्यक्रम संगीत सरोवर त्यसमा पनि रेडियो नेपालमा बज्ने भनेपछि आफूले गीत बजाउने अनुमति दिएको उनले बताए।  धेरै ‘पपुलर’ कार्यक्रममा गीत गुञ्जिने अवसर पाएको भन्दै उनको साथीहरुले पनि प्रतिक्रिया दिएको उनले विगत स्मरण गर्दै बताए।

गीतको सरु शब्द कसरी उत्पादन भयो ? भन्ने प्रश्न तेश्राउन नपाउदै उनले गीतको खण्डन गर्दै कहिलेकाहीँ गीतको पात्र आफै उत्पादन हुने बताए।

 सबै गीतमा उनिएको शब्द आफूसँग मेल खानेभन्दा पनि संयोग पनि हुन सक्ने उनी तर्क गर्छन्।

‘ लेख्नेहरुलाई एउटा माध्यम चाहिन्छ,’उनी भन्छन्,‘ प्रकृतिसँग साउती मार्दै पनि गीतको शब्दहरु कोर्न सकिन्छ। कविता लेख्न सकिन्छ।’

त्यसो त सूयर्मा आफैँ पनि गीत गाउछन्। तर गायक बन्ने सपनाबाट टाढै रहे। गीत थुपै्र लेखेका छन्। झरीले रुझ्यौ कि आँशुले भिज्यौ रुझेको देख्छु प्रीय कैले भिज्यौ , तिम्रो हेराईमा केही अर्थ छ, कि लाग्छ त्यहीँ कहीँ मेरो बिम्ब छ , लगायतको गीत बजारमा आइसकेको छ।  गायक दिप श्रेष्ठ, जगदीश शमाल, राजेश पायल राई लगायतले उनको रचनामा रहेको गीतमा स्वर भरेका छन्।

संगीत सरोवरमा बजेको गीतले धेरैको मन, मस्तिष्कमा बस्ने अवसर पायो। रेडियो नेपाल सुनेर हुर्किएका  पुस्ता त्यसमा पनि संगीत सरोवर सुन्ने श्रोताहरुले कार्यक्रमको पृष्ठभूमिमा बज्ने गीत भर्खरै मात्रै आफूले लेखेको हो भन्ने थाहा पाउदै आएको उनी सुनाउछन्।

उनी भन्छन्,‘समाजिक संजालमा मैले त्यो गीत पोष्ट गरेको थिए, त्यहाँ सुनेर थाहा पाउनेहरु छक्क पर्छन।’

 किनकी उनको लेख्ने र गाउने कलाको विषयमा धेरै अनभिज्ञ छन्।

मोरङको कानेपोखरीमा जन्मेका उनी अध्ययनको शिलशिलामा काठमाण्डौ पुगेका थिए।

 संघर्षको दौडमा राम्रो संगीत गुरु भेटेको भए सायद उनी  सांगीतिक क्षेत्रमा आफ्नो नाम लेखाउ थिए होला तर, उनी केही समयमा नै कानेपोखरी फर्किए। र, उनले राजनीतिक यात्रा तय गरे।

संगितमा सम्भावना भएको मान्छे राजनीतिमा कसरी प्रवेश गर्नुभयो ? भन्ने प्रश्नमा हाँस्दै उनले विद्यार्थी राजनीतिले जीवनको लक्ष्य नै परिवर्तन गरिदिएको उनी बताउछन्।

हुन त धेरै मान्छेको समयसँगै चाहाना फेरिन्छ। रुचि एउटा पेसा अर्को हुन्छ।  यस्तै उनले लेखन क्षेत्रलाई सांघुरो बनाएर राजनीतिलाई फराकिलो बनाउदै गए।  उनको पारिवारिक पृष्ठभूमि राजनीतिसँग जोडिएको छैन। तर, उनले राजनीति राजे।

अघिल्लो कोशी प्रदेशसभा बैठकमा निर्वाचन क्षेत्रका समस्या र समाजिक विषय उठान गरिरहने राई  ३८ वर्षको उमेरमा ं संसदिय यात्रामा अगाडी बढेका थिए।

राजनीति र संगीतलाई एउटै लयमा लिएर हिँड्न नसक्दा उनले केही वर्ष लेख्न छाडिसकेका थिए।

अहिले उनी राजनीतिसँगै लेखन यात्रालाई सँगै अगाडी बढाउने तयारीमा जुटिरहेका छन्। यो अवधिमा उनले अध्ययनलाई पनि निरन्तरता दिइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.