रुघाखोकी लागे तीन दिन कुर्नु, निको नभए अस्पताल गइहाल्नुपर्छ

|

अघिल्ला वर्षको तुलनामा यो वर्ष धेरै चिसो हुने संकेत देखिएको छ। गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका, दीर्घरोगी र वृद्धवृद्धामा चिसोमा बढी जोखिम हुन्छ। अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.दिवित अधिकारीले चिसोमा सावधानी अपनाउनुको सट्टा औषधि खाने चलनले स्वास्थ्य जोखिम बढिरहेको बताए। प्रस्तुत छः डा. दिवित अधिकारीसँग नेपाल न्यूज एजेन्सीले चिसो मौसम र स्वास्थ्य हेरचाहसम्बन्धी गरेको वार्ता। 
 

चिसो समयमा नाक, कान र घाँटीका समस्या बढी देखिन्छन्‚ किन ?
मैले विगत २२ वर्षदेखि नाक, कान र घाँटीसँग सम्बन्धित रोगको उपचार गर्दै आइरहेको छु। नाकसम्बन्धी रोगमा नाकबाट सिंगान धेरै बग्ने, हाच्छिउँ आउने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने रोग हुन्छन्। कानसम्बन्धी रोगमा कान पाक्ने, कान नसुन्ने, कान चिलाउने र चक्कर लाग्ने समस्या हुन्छन् भने घाँटीसम्बन्धी समस्यामा घाँटी सुन्निने लगायतका समस्या हुन्छन्। नाक, कान र घाँटी अन्तरसम्बन्धित छन्। यसलाई इएनटी पनि भनिन्छ। 
 

नाक, कान र घाँटीका रोग गर्मीमा बढी देखिन्छन् कि जाडोमा ?

जाडो याम तथा चिसो बढेसँगै नाकको समस्या, घाँटी दुख्ने समस्या र श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै जान्छ। त्यसैगरी गर्मीयाम शुरु हुने बित्तिकै कान पाक्ने रोग फेरि बढ्दै जान्छ। गर्मीमा मान्छेले धेरै नुहाउँदा कानभित्र पानी पर्ने भएका कारण कान पाक्ने रोग बढी मात्रामा देखिन्छ। चिसोको तुलनामा गर्मीमा चिसो खानेकुरा बढी खाने भएकाले घाँटी दुख्ने समस्या आउँछ।

पछिल्लो समय संक्रमण बढ्दै गएको हो ?
हो, मानव स्वास्थ्यमा संक्रमण बढ्दो देखिन्छ। खासगरी कोरोना भाइरस संक्रमणपछि अलि बढेर गएको छ। अहिले भाइरल भाइरस बढी भएका कारण संक्रमण अझ बढी भएको हामीले देखेका छौँ। 

सामान्य लाग्ने रुघाखोकीमा पनि मान्छे ओछ्यान परेको देखिएको छ ?

धेरैजसोमा संक्रमणका लक्षण कम देखिने गरेको छ। घातकभन्दा पनि नाक र घाँटीबाट संक्रमण छातीमा गएर श्वासप्रश्वासमा समस्या हुनेकुरा पहिलेभन्दा अहिले बढी देखिएको छ। कोरोना संक्रमणपछि र पछिल्लो समय बढेको वायु प्रदूषणका कारण श्वासप्रश्वासका रोगी बढेका छन्। ​

अहिले रुघाखोकी लाग्दा पनि एन्टीबायोटिक खानुपर्छ किन?  
सामान्य रुघाखोकी सामान्य घरेलु उपचारले निको हुन छोडेको छैन।​ पहिलेका भन्दा अहिलेका जीवाणु सशक्त भएको देखिन्छ। पहिले दुई दिनमा रुघाखोकी ठिक हुनेमा अहिले १४ दिनसम्म पनि ठिक भइरहेको छैन। पहिले राइनो अर्थात् रुघाखोकी लाग्ने भाइरसले आक्रमण गर्थ्यो। अहिले इन्फ्लुएन्जा भनेर आएको छ। त्यसको संक्रमण अझै व्यापक छ।​

एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने संक्रमण तीव्र छ, एकै दिनमा धेरै व्यक्तिमा एक व्यक्तिले संक्रमण गराइरहेको देखिन्छ ?

अहिले संक्रमण बढ्दो गतिमा छ। पछिल्लो समय जलवायु परिवर्तनको असर पनि बढेर आएको छ। त्यसको कारण एक्सपोजर सबैलाई एउटै हो। तर रोगसँग लड्ने क्षमता एउटा वयस्क पुरुषमा जति छ त्यति महिला, बालबालिका र वृद्ध अवस्थाका मानिसमा कम हुन्छ। त्यो क्षमता कम हुनेबित्तिकै किटाणु तथा जीवाणुले झन् छिटो आक्रमण गर्छ। धुलो धुवाँबाट बच्नका लागि हामीले मास्क प्रयोग गर्ने, अनि वायु प्रदूषण कम गर्ने क्रियाकलाप गर्ने, न्यानो लुगा लगाउने, मनतातो पानी पिउने गर्नुपर्छ। परम्परागत बेसार पानी पिउने लगायत काम गर्न मिल्छ।

हामी कस्तो अवस्थामा घरमा बसेर उपचार हेरचाह गर्ने र कस्तो अवस्थामा अस्पताल आउने?

नेपालको सन्दर्भमा मानिसमा केही हदसम्म चेतनाको कमी पनि छ। कान सुन्न छोडेको २४ घण्टाभित्र अस्पताल आयो भने त्यो कानलाई उपचार गर्न सकिन्छ। ७२ घण्टासम्म पनि त्यो निको पार्ने प्रयास गर्न सकिन्छ। तर ७२ घण्टा भन्दा पनि उता गएको अवस्थामा हाम्रो श्रवण शक्ति नआउन पनि सक्छ। त्यसकारण कान सुन्न छोडेको २४ घण्टामा जे कारण भए पनि अस्पताल आउन जरुरी छ। त्यस्तै सामान्य रुघाखोकी दुई दिनसम्म हेर्ने हो। घरेलु उपचार गर्दागर्दै दुई दिनपछि पनि ठिक भएन भने तुरुन्तै आउने। त्यस्तै रुघासँगै टाउको दुख्ने अथवा अनुहारको कुनैपनि भाग दुखेको अवस्थामा पनि हामीलाई भेट्न आउने हो। चिकित्सकको परामर्शबिना औषधि कहिले पनि नखानुहोला। समय र पैसा खर्च भएपनि चिकित्सकलाई देखएर खाएको औषधि रामो हुन्छ। घरेलु उपचार सामान्य कुरालाई एकदुई दिन गर्न मिल्छ।

रुघाखोकी र अन्य रोगको संक्रमण र लक्षण कसरी छुट्याउने?

म जहिले पनि फ्लुलाई तीन दिन हेर्नुपर्छ। त्यो तीन दिनमा हाम्रो रोगसँग लड्ने क्षमता ठिक छ भने रुघा लाग्ने, हाच्छिउँ आउने, सिंगान आउने, टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने यो सबै घट्ने क्रममा जान्छ। यी लक्षण २४ देखि ४८ घण्टासम्म नघटेको अवस्थामा चिकित्सकलाई देखाउनुहोस्।

शरीरमा जे कुरा पनि छिर्ने भनेको नाक र मुखबाट नै हो। खोकी छाती र घाँटीको खोकी पनि हुन्छ। रुघा पनि नाक र मुखतिरको पनि हुन्छ। नाक, मुख र घाँटीमा आउने खोकी जहिले पनि खसखसे खोकी हुन्छ। त्यसमा स्वाँस्वाँ हुदैन। तर कोही मान्छेलाई खोकी पनि लाग्यो। ज्वरो पनि आयो १०२ देखि १०३ डिग्रीको भने त्यसले छातीमा संक्रमण भयो है भनेर जनाउँछ। सामान्य खोकीमा खसखसे खोकी मात्र हुन्छ। तर ज्वरो धेरै आउने र श्वासप्रश्वासमा समस्या आयो भने त्यो चाहिँ छातीमा संक्रमण भएर आएको खोकीको रूपमा बुझ्नुपर्छ।​

उमेरगत र अवस्था अनुसार कसरी उपचार हेरचाह गर्ने ?

रुघाखोकी त सबैभन्दा बढी संक्रमण भएको बच्चा उमेरका मानिसमा देखिएको छ। वयस्कमा यसको संक्रमण अलिकति कम भएको पाइन्छ। कान पाक्ने समस्या बच्चाभन्दा पनि वयस्क मानिसमा मैले देखेको छु। घाँटी दुख्ने, टन्सिल हुने समस्या बच्चा उमेरको भन्दा वयस्कमा अलि बढी देखेको छु। घाँटी दुख्यो कि उनीहरू टन्सिल भनेर औषधि दिन्छन्। प्रत्येक घाँटी दुखाइ टन्सिल होइन। टन्सिल भनेको जहिले पनि ब्याक्टेरियल नै हुन्छ। त्यसमा हामीले एन्टिबायोटिक दिनैपर्छ। तर फ्यारेनजाइटिक्समा हामीले मनतातो पिउने र धुवाँधुलोबाट एकदुई दिन बचेर बस्यो भने पनि निको हुन्छ। यहाँ त घाँटी दुखेर मेडिकल गयो कि औषधि चलाइदिहाल्छ। त्यो औषधिले रोग त निम्त्याउँदैन। तर सामान्य रोगको लागि कडा एन्टीबायोटिक दियो भने भोलि त्यो मान्छेलाई समस्या हुन्छ।

अहिले विरामीहरू मेडिकल गएर एक चरणको औषधि खाएर हाम्रोमा आउने समस्या देखिएको छ। यो एउटा ठूलो समस्या हो। त्यसमा दिने औषधि हामीकहाँ हुँदैन। उनीहरूले पहिले नै खाइसकेको हुन्छ। यसका लागि सरकारले नियम त ल्याएको छ तर लागू गर्न सकेको छैन। व्यापारका लागि भनेर औषधि बेचबिखन हुँदैन।


विशेषज्ञ चिकित्सकको नाताले के सन्देश दिन चाहनुहुन्छ ?

अन्तिममा सबै नागरिकलाई मेरो सन्देश के छ भने तपाईंहरू नाक, कान, घाँटीलाई हेलचेक्र्याँई नगर्नुहोला। यी अंगमा हुने संक्रमणलाई सामान्य रूपमा नलिनुहोला। यसमा हुने संक्रमणले कहिले काहीँ जटिल समस्या पनि सिर्जना हुन सक्छन्। नाक, कान घाँटीलाई मान्छेले ठूलो रोगका रूपमा लिँदैन। तर यदि यही नाक, कान घाँटीको इन्फेक्सन फैलियो भने टाउकोमा जानसक्छ। यसले ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले नाक, कान घाँटीलाई सामान्य रूपमा नलिन म सबैलाई आग्रह गर्न चाहन्छु। समस्या भएको खण्डमा चिकित्सकको सल्लाह लिनुहोला। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.