|

काठमाडौँ : यही मङ्सिर २४ देखि २७ गतेसम्म आयोजना हुने ‘१२औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ फिल्म छनोट भएका छन्।

सोमवारदेखि हुने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए।

“यसपटकको संस्करणमा अन्तरराष्ट्रियस्तरमा ख्यातिप्राप्त फिल्मसमेत सहभागी हुनेछन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भने।

महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित फिल्म महोत्सवमा पुरस्कृत फिल्महरु ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतको सहभागिताले महोत्सवको रौनक बढाएको महोत्सव निर्देशक खत्रीले बताए।

महोत्सवको शुरुआत सोमवार कान्समा पुरस्कृत लघु चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’बाट हुनेछ। उनले महोत्सवअन्तर्गत ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिइने समेत बताए। 

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी ४ दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ। 

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले महोत्सवको आयोजना गर्दै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.