काठमाडौँ : पछिल्लो समय सिमेन्टमा बढेको मूल्य घटाउने विषयमा सिमेन्ट उत्पादक संघ र उद्योग मन्त्रालयबीच छलफल भएको छ।
आइतवार सिंहदबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्रीले अस्वाभाविक रुपमा बढेको सिमेन्टको मूल्य घटाउन उद्योगीसँग आग्रह गरेका हुन्।
निर्माण व्यवसायीले वाणिज्य‚ आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत सरकारलाई समेत केही सिमेन्ट कम्पनीले सिमेन्टको मूल्यमा २ सय रुपैयाँ बढाएको भन्दै उजुरी दिएकाले व्यवसायीसँग सरकारले छलफल अगाडि बढाएको हो।
अन्तरराष्ट्रियस्तरमा कुनै कुराको मूल्य वृद्धि नभएको तर बजारमा सिमेन्टको मूल्य वृद्धिका कारण भौतिक पूर्वाधार र विकास निर्माणको क्षेत्रमा समस्या भएको व्यवसायीले गुनासो गरेका थिए। उनीहरुको गुनासो सम्बोधन गर्ने हिसाबले उद्योग मन्त्रालयले सिमेन्ट उत्पादकहरूसँग छलफल गरेको हो।
छलफलपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले विभागमा एक हप्तादेखि धेरै उजुरी परेकाले मन्त्रालयमा व्यवसायीहरूसँग छलफल गरिएको बताए।
उनले मन्त्रालयमा सिमेन्ट उत्पादकहरूका कुरा पनि सुनिएको बताए। उनले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २१ बमोजिम मूल्य निर्धारण भए/नभएको सत्य तथ्य ७ दिनभित्र पेश गर्न समय दिएको बताए।
७ दिनभित्र के कारणले सिमेन्टमा २ सय रुपैयाँ मूल्य वृद्धि गर्नुपर्ने आधार र कारणसहित पेश गर्न निर्देशन दिएको उल्लेख गए।
यता नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भने व्यवसायीहरूले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि नगराएको जानकारी दिए। उनले सिमेन्टको उत्पादन लागत बढेको अवस्थाको कारण मूल्यवृद्धि भएको बताए।
उनले विगतमा उत्पादन लागतभन्दा कममा बिक्री भइरहेकाले मूल्य वृद्धिको आभास नभएको बताए। उनले निर्माण कार्य शुरु भएपछि सिमेन्टको मूल्य वृद्धि भयो भन्ने आरोप गलत भएको बताए।
उनले बजारमा माग र आपूर्तिको बीचमा ब्यालेन्स नहुँदा पनि व्यवसायीहरूले मूल्य समायोजन गर्नुपरेको उल्लेख गरे।
‘सिमेन्टको मूल्यमा व्यवसायीहरुको कार्टेलिङ गरेका छैनौँ। मूल्यवृद्धि भएको छ। सिमेन्टको उत्पादन लागत बढेको अवस्थाको कारण मूल्यवृद्धि भएको हो’‚ उनले भने, ‘विगतमा उत्पादन लागतभन्दा कममा बिक्री भइरहेको थियो। निर्माण कार्य शुरु भएपछि सिमेन्टको मूल्य वृद्धि भयो भन्ने आरोप गलत हो।’
उनले नेपालमा सिमेन्ट उत्पादनको क्षमता वार्षिक २५ मिलियन टन भए पनि ७ मिलियनभन्दा बढी खपत हुन नसकेको बताए।
उनले माग र आपूर्ति बीचमा ठूलो खाडल रहेको कारणले पनि मूल्यवृद्धि भएको भन्दै सरकारले भने जस्तो मूल्य कम गर्नेबारे उद्योगीहरूसँग छलफल गरिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।