काठमाडौं : सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन्।
सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्।
असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको छ। विद्रोही समूहले हिजो दमास्कस कब्जामा लिनुअघि नै राष्ट्रपति असद र उनको परिवार देश छाडेर भागेको थियो।
राजधानी कब्जा गरेपछि विद्रोही सेना हयात तहरीर अल शाम्स एचटीएसका प्रमुख अबु मोहम्मद अल जोलानीले मश्जिदमा उपस्थित नागरिकलाई सम्बोधन गर्दै देशबाट तानाशाह भागेसँगै सिरिया स्वतन्त्र भएको उद्घोष गरे र सिरियाली जनताको जित भएको बताए।
विद्रोही समूहले राष्ट्रपतिलाई सत्ताच्यूत गरेकोमा अमेरिका, बेलायत, युरोपियन युनियनलगायत पश्चिमा राष्ट्रले उक्त कदमको स्वागत गरेका छन्। तर, लामो समयदेखि सिरियाको सहयोगीका रुपमा रहेका रुसको अस्तित्वमा भने प्रश्न उठेको टिप्पणी भइरहेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सिरियाका लागि ऐतिहासिक दिन भएको बताए। इजरायलले सिरिया नजिक रहेको आफ्नो सीमा तैनाथी जारी रोखेको छ। नेतन्याहूले विद्रोही सूमहसँग छिमेकी र शान्तिपूर्ण सम्बन्ध चाहेकोसमेत स्पष्ट पारे।
यसैबीच विद्रोही सेनाले सिरियामा रहेका हात हतियारलाई पुनः एकत्रित नगरोस् भन्दै इजरायलले राजधानी दमास्कसस्थित हातहतियार डिपोलक्षित आक्रमण गरेको जनाएको छ। यस्तै अमेरिकाको सेन्ट्रल कमाण्ड युनिटले मध्य सिरियामा इरान समर्थित आइएस समूहलक्षित हवाई आक्रमण गरेको बताइएको छ।
राष्ट्रपतिको पतनपछि सिरियाली विस्थापित नागरिकहरु जोर्डन र लेबनानबाट पुन घर फर्किरहेका छन्। विश्वभर रहेका सिरियालीले उत्सव मनाइरहेका छन्। दुई साताको संघर्षपछि विद्रोही समूहले सिरियालाई आफ्नो नियन्त्रणमा लिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।