काठमाडौँ : विस्तारै काठमाडौँलगायत देशभरको मौसम चिसो हुँदै गएको छ भने उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत पर्न थालिसकेको छ।
चिसो बढ्दै गएपछि दैनिक जनजिवन प्रभावित मात्रै होइन बिरामी हुने संख्या पनि बढ्दै गएको छ। चिसोका कारण 'सिजनल फ्लु'का बिरामी बढ्दै गएका छन्।
नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर चिसोका कारण फ्लुबाट संक्रमित भएर अस्पताल आउने बिरामीहरूको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ।
यतिखेर अस्पतालमा दैनिक २० देखि २५ जना बढी रुघाखोकी, कोल्ड डायरिया, निमोनिया, दम, तथा ब्रोङ्काइटिसको समस्या लिएर अस्पताल आउने बिरामी बढ्दै गएको अस्पतालले जनाएको छ।
अस्पतालका ओपिडी इन्जार्ज शंकर पाण्डेले भने ‘ 'चिसो बढेसFगै फ्लुका लक्षण लिएर आउने बिरामीहरू बढेको छन्।'
अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बालबालिकाहरूमा कोल्ड डायरिया जस्ता समस्या देखिने, युवा तथा जेष्ठ नागरिकहरूमा ज्वरो, रुघाखोकीजस्ता फ्लुजन्य समस्या देखिएर मानिसहरू अस्पताल आउने गरेका छन्।
‘युवा तथा वृद्धहरू रुघाखोकी ज्वरो तथा दमबाट संक्रमित हुने धेरै छन् भने बालबालिकाहरूमा कोल्ड डायरियाका समस्या भएकाहरू धेरै छन्', उनले भने।
यता, त्रिवि शिक्षण अस्पतालमा समेत चिसो बढेसँगै छाती दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको अस्पतालका मेडिसिन विभागका पल्मोनोलोजी एवं क्रिटिकल केयर चिकित्सक डा. निरज बमले बताए।
उनका अनुसार हाल अस्पतालमा उपत्यकाभित्रैबाट घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने तथा अन्य छातीसम्बन्धी समस्या लिएर आउने बिरामीहरू छन्।
यसरी बच्न सकिन्छ
सरुवारोग विशेषज्ञ डा पुनका अनुसार अनुसार चिसो मौसममा सकेसम्म मर्निङ वाक नजानु राम्रो हुन्छ। उनले भने, 'यसै त उपत्यकाको हावा त्यति स्वस्थकर छैन, अझ चिसोको मौसममा मर्निङ वाक जाने गर्नाले बिहानको चिसो हावाले सिधै छातीमा छुने हुँदा सकेसम्म बिहानको समयमा मर्निङ वाक जानु राम्रो हुँदैन।
चिसोको कारण सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखिने हुनाले शरीरलाई सकेसम्म चिसोबाट जोगाउनुपर्छ। यसका लागि न्यानो कपडा लगाउने तथा बिहानको चिसो हावामा घरबाट ननिस्कनु राम्रो हुन्छ। दिउँसो घरबाहिर निस्किँदा पनि मास्क लागाएर निस्कने, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ। यस्तै, छाती दुख्ने तथा श्वाश फेर्न गाह्रो हुने समस्या बढ्दै गयो, घ्यारघ्यार हुँदै गयो भने सकेसम्म चाँडो अस्पताल जानु राम्रो हुने चिकित्सकहरू सुझाव दिन्छन्।
धेरै वृद्धवृद्धाहरू हरेक दिन बिहान चिसो पानीमा नुहाउने हुँदा सकेसम्म चिसो पानीले ननुहाउनु राम्रो हुन्छ। चिसोले दीर्घ रोग लाग्नुभन्दा संक्रमणहरूलाई बढाउने हुँदा दीर्घ रोगको समस्या झेल्दै आएकाहरूले सकेसम्म आफूलाई चिसोबाट जोगाउनु राम्रो हुने चिकित्सकहरू बताउँछन्।
यसका अलवा चिसो मौसममा न्यानो हुन घर भित्र हिटर, कोइलालगायतका उपकरणहरु बालेर बस्दा झन् श्वासप्रश्वासमा समस्या हुने, पहिले देखिनै दमका बिरामी रहेकाहरूलाई झन् असर गर्ने हुँदा विशेष समावधानी अपनाउनुपर्ने डा. पुनको भनाइ छ।
घरभित्र हिटर ताप्दा झ्यालढोका खोलेर हावा आउनेजाने गरेर ताप्नु पर्छ। विशेषगरी आगो ताप्दा वा हिटर बाल्दा कागज ,कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने, आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।