‘राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्, गणतन्त्र नै सर्वोत्तम’

|

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कतिपय पात्रका कारण गणतन्त्रमा सही शासन हुन नसकेको स्वीकार्दै गणतन्त्र सबै किसिमले सर्वोत्तम व्यवस्था भएको दावी गरेका छन्।

सोमवार ७४औँ मुक्ति दिवसका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्।

उनले कतिपय पात्रहरुको कारणले गणतन्त्रमा सही शासन हुन नसकेको पनि बताए। उनले गणतन्त्रमा जनताका अपेक्षाअनुसारका काम हुन नसकेको स्वीकार्दै गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको बताए।

‘राजतन्त्रको अनिवार्य नियति भनेकै कुर्सीमा बसिसकेपछि उ निरंकुश हुन खोज्छ, प्रजातन्त्रमाथि धावा बोल्न खोज्छ, एक न एकदिन उसले प्रजातन्त्र डस्छ भन्ने निष्कर्षका साथ नै हामी गणतन्त्रमा पुगेका हौँ र यसमा हामीलाई गर्व छ‚’ उनले भने, ‘हो गणतन्त्रमा कतिपय पात्रहरुको कारणले जस्तो शासन व्यवस्था हुनुपर्दथ्यो, त्यो हुन नसकेको होला। जनताका अपेक्षाअनुसारका काम हुन नसकेका होलान् तर वास्तवममा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो।’

उनले नेपाली राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान नसक्ने इतिहासले पुष्टि गरेको दावी पनि गरे।

‘नेपाली इतिहासले के देखायो भने राजतन्त्र र प्रजातन्त्र सँगसँगै जानसक्ने रहेनछन्। दुईपटक नेपाली जनताले त्यत्ति उदार मनले भागेर दिल्ली पुगेका राजालाई फर्काएर गद्दीमा राख्दा पनि मदन भण्डारीको भाषामा सेतो हात्ती पाल्न अलि बढी खर्च लाग्ला केही बात छैन तर जनताको अधिकारमाथि गिद्दे दृष्टि नलगाइयोस्,’ उनले भने, ‘भनेर त्यसरी सम्झौता गर्दा पनि पुरानै अवस्थामा उहाँ पुगिसकेपछि हामी यो निष्कर्षमा पुगेका हौँ कि अब राजतन्त्र र प्रजातन्त्र सँगसँगै अघि बढ्न सक्दैनन्।’

उनले क्रान्तिको लाभ जनताले पाउने सुनिश्चिचतासहित सरकारका काम कारबाही अघि बढाउन जरुरी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.