काठमाडौँ : लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले यसअघिका खेलमा राम्रो नतिजा नआएकाले आज जित निकाल्नु सुखद भएको बताएका छन्।
चितवन राइनोजविरुद्ध जितपछि उनले आगामी यात्रा तय गर्न यो जित पर्याप्त नहुने भएकाले बाँकी खेलमा पनि ध्यान दिने बताएका छन्।
रोहितले पछिल्ला खेलमा बलिङ राम्रो हुन नसके पनि आजको खेलमा भने सुधार भएको बताएका छन्। यसअघिका खेलमा आफूले बलिङ नगरेकोमा गल्ति महसुस भएको उनी बताउँछन्।
उनले ४ खेलमा पराजय भोग्दा सबै खेलाडीको मनोबल उच्च बनाइराख्न सहज नभएको उल्लेख गरे। उनले यो पिचमा आफ्नो लागि अहिलेसम्मकै राम्रो भइरहेको पनि बताएका छन्।
जारी एनपिएलमा पहिलो जितले पनि टोलीको लक्ष्य पूरा नहुने भएकाले बाँकी खेलमा ध्यान दिनुपर्ने उनी बताउँछन्।
चितवन राइनोजका प्रशिक्षक उमेश पटवालले रोहित र साद बिन जफरले उत्कृष्ट ब्याटिङ गरेपछि आफ्नो टोलीको लक्ष्य पूरा नभएको बताए। उनले हारको बाबजुद कप्तान कुशल मल्लले राम्रोसँग जिम्मेवारी वहन गरेको उल्लेख गरेका छन्।
उनले कहिलेकाहीँ खराब दिन आउने र आज कुशलको लागि राम्रो नभएको बताए। उनले विदेशी खेलाडीभन्दा अगाडि रोहित उच्च रनकर्ता हुनु नेपाली क्रिकेटका लागि सुखद् पक्ष रहेको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।