रोग व्यवस्थापनमा कलमी विधि

|

काठमाडौँ : तरकारी बालीमा पछिल्लो समय बढ्दो माटोजन्य रोग ठूलो चुनौती बन्दै गएको छ। 

माटोबाट सर्ने रोगको प्रकोपले उत्पादन ठप्प जस्तै हुँदा किसानहरू तरकारी खेती नै छाड्न बाध्य हुनुपरेको छ। विशेषगरी, प्लास्टिक घर र टनेल खेतीमा माटोजन्य रोग बढी देखिने गरेको जानकारहरू बताउँछन्। रोगको प्रकोपबाट जोगाएर तरकारी खेतीमा देखा पर्ने समस्याको दिगो समाधानका लागि नेपाल कृषि अनुसन्धान परिषद्‌द्वारा कार्यान्वयन भइरहेको परियोजनाले काम गरिरहेको छ। 

अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर बढाउन लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धनको उद्देश्य सहित फिड द फ्यूचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत तरकारीमा लाग्ने माटोजन्य रोगको व्यवस्थापनबाट कृषकहरूको जीविकोपार्जन तथा खाद्य सुरक्षामा सुधार परियोजना कार्यान्वयनमा छ। 

परियोजना अन्तर्गत तरकारी बालीमा माटोबाट सर्ने रोगको व्यवस्थापनका लागि कलमी प्रविधिको विकास, विस्तार र प्रवर्द्धन गर्न बागमती प्रदेशका किसानहरूलाई कलमी प्रविधिका बारेमा प्रशिक्षण दिइएको परियोजना संयोजक डा. रामबहादुर खड्काले जानकारी दिए। 

तरकारीको कलमी विधि

डा. खड्काका अनुसार तरकारीको कलमी, एउटा जातको जरा र अर्कोको डाँठ अर्थात् काण्ड काटेर जोड्ने विधि हो। यसरी जोडेपछि उच्च आर्द्रताको बीचमा राख्नुपर्छ। अन्यथा जोडिँदैन र यो विधि सबै तरकारीमा गर्न पनि सकिँदैन। खासगरी फल दिने तरकारीहरू, गोलभेँडा, खुर्सानी, भिँडे खुर्सानी, भन्टा, लहरे बालीहरू : काँक्रो, घिरौँला, करेलामा गर्न सकिन्छ।

परियोजनाले हाल भन्टा, खुर्सानी र गोलभेँडामा मात्र कलमी विधिको काम गरिरहेको डा. खड्काले बताए। ‘जुन पायो त्यही बीउ रोपेर पछि विषादीको प्रयोगले उत्पादन बढाउनुभन्दा जरादेखि नै बलियो बनाई, रोग सहन सक्ने विरुवाको विकास गरी उत्पादकत्व बढाउने उद्देश्यले यो विधि अपनाइएको हो’‚ उनले भने।

अनावश्यक विषादीको प्रयोगले माटोको स्वास्थ्य बिग्रिएर रोगको प्रकोप घट्नुको सट्टा झन् बढिरहेको अध्ययनले देखाउँछ। कलमी प्रविधिले भने विषादीको प्रयोगलाई कम गर्न मद्दत गर्ने र जरादेखि नै बलियो बिरुवा हुने भएपछि रोग कम लाग्ने दाबी गरिन्छ। 

त्यसो त पछिल्लो समय प्राङ्गारिक पदार्थको मात्रा घटिरहेकाले नेपालको माटोको स्वास्थ्य बिग्रँदै गएको छ। यस्तो अवस्थामा तरकारी बालीमा पनि नकारात्मक असर देखिएको छ। तरकारी खेती गर्दा प्राङ्गारिक पदार्थको प्रयोग बढाउन किसानलाई आग्रह गरिएको भन्दै उनले माटोजन्य रोग नियन्त्रणका लागि प्राङ्गारिक पदार्थको मात्रा बढाउनु पनि एक महत्त्वपूर्ण काम रहेको बताए। 

तरकारी खेतीका समस्या

डा. खड्काका अनुसार तरकारी बालीमा धेरै समस्या छन्। त्यसमध्ये माटोबाट लाग्ने रोग मुख्य चुनौती बन्दै गएको छ। ‘यसलाई विषादी छर्ने र अन्य विधिबाट व्यवस्थापन गर्न गाह्रो छ। त्यसकारण रोग सहन सक्ने जरा र उपभोक्तालाई मन पर्ने गुणस्तर भएको फल दिने तरकारीको टुप्पो अर्थात् काण्डलाई जोडेर नयाँ विकास गर्नु उपयुक्त मानेका छौं’‚ उनले भने।

तरकारीमा परम्परागत बाली प्रजननका विधि छन्। त्यसबाट सबै चुनौतीको सामना गर्न सक्ने खालका नयाँ जातको विकास गर्न गाह्रो हुने र लामो समय लाग्ने हुन्छ। यस्तो अवस्थामा रोग सहन सक्ने जराहरू भएका विरुवा, जंगली भन्टा पहिचान गर्न सके सजिलै कलमी गर्न सकिन्छ। 

यसअघि देशभरिका किसानलाई बोलाएर परियोजनाले कलमी प्रविधि सम्बन्धमा तालिम दिएको थियो। त्यसयता किसानमा कलमी प्रविधिप्रति निकै उत्साह देखिएपछि यसवर्ष सातवटै प्रदेशका किसानलाई तालिम दिइरहेको डा. खड्काले बताए। कलमी गर्दा सबैभन्दा पहिले जरा भएको विरुवाहरू पहिचान गर्नुपर्छ। गोलभेँडा, भन्टा, भिँडे खुर्सानी, खुर्सानीसँग जोड्न मिल्ने जंगली प्रजातिको विरुवा पत्ता लगाउनुपर्छ। तर रोग कम लाग्ने र जोड्न मिल्ने खालको जंगली प्रजातिको विरुवाको पहिचान गर्नु पनि चुनौतीपूर्ण छ। 

‘केही जातहरू अन्ताराष्ट्रिय तरकारी अनुसन्धान केन्द्र ताइवानबाट ल्याइएको छ भने राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिंक बैंक) ले नेपालका केही जंगली भन्टाका जात संकलन गरेको छ। अहिले ती विरुवाहरू कत्तिको प्रभावकारी हुन्छन्, रोग सहन सक्छन् या सक्दैनन् र जोड्न मिल्छ कि मिल्दैन भनी अनुसन्धान गरी नयाँ जातको विकास गर्ने काम भइरहेको छ’‚ उनले भने। 

तरकारीमा माटोजन्य रोगहरू

हावापानीमा हुने परिवर्तन, विषादीको बढ्दो प्रयोग, जथाभावी विरुवाका जातहरू लगाउँदा तरकारी बालीमा विभिन्न खालका समस्या देखा पर्ने गरेका छन्। 

तरकारीमा लागेका रोगहरू ब्याक्टेरिया, ढुसी, जुकाहरूले गर्दा फैलन्छ। तिनीहरू माटोमै लामो समयसम्म बाँच्न सक्छन् जसले गर्दा जरा कुहिने रोग लाग्छ। तरकारीको जरा कुहिएको किसानहरूले थाहा नै नपाउने र बोट मरेपछि मात्र समस्या पत्ता लाग्ने गरेको उनी बताउँछन्।  

यसैगरी विरुवाको जरामा गाँठा बनाउने जुका हुन्छ। ब्याक्टेरिया र ढुसीका कारणले गर्दा तरकारीको विरुवा पूरै ओइलाएर मर्ने पनि गर्छ। ‘पात, डाँठमा लाग्ने रोग समयमै देखिने हुँदा व्यवस्थापन गर्न सहज हुन्छ’, उनले भने‚ ‘तर माटोमुनि जरामा लाग्ने रोग, विरुवा नमरुञ्जेल किसानले थाहै पाउँदैनन्।’

किसानले हरेक वर्ष तरकारी खेती गर्दै जाँदा माटोमा कीटाणुको संख्या पनि बढ्दै जान्छ। जसका कारण पहिलो र दोस्रो वर्ष राम्रो उत्पादन भए पनि तेस्रो, चौथो वर्षदेखि रोगहरू लाग्ने र यसले उत्पादन घटाउँदै शून्य हुने अवस्था ल्याएको छ। 

‘कतिपय किसान रोग व्यवस्थापन गर्न नसकेर तरकारी खेती नै छाडेर अन्यत्र लाग्नुपरेको अवस्था छ’, डा. खड्काले भने‚ ‘कलमीबाट विकास गरिएको जातको तरकारीका विरुवाहरूको भने जरा धेरै गहिरोसम्म जाने, धेरै फैलिने हुँदा धेरै खाद्य तत्त्व, पानी धेरै लिन्छ र उक्त विरुवाको वृद्धि विकास पनि धेरै हुन्छ। यस्ता विरुवाले लामो समयसम्म उत्पादन दिन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.