काठमाडौँ : पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीसँग ट्युनिङ मिल्ने मान्छेहरू नियमनकारी निकायमा हुँदा पनि भनेजस्तो नतिजा आउन नसकेको बताएका छन्।
बुधवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, बिमा क्षेत्रमा आफू अनुकूलका व्यक्ति हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको आरोप लगाए।
उनले नेपालका नियामक निकायमा क्षमतावान र स्वस्थ व्यक्ति सरकारले ल्याउन नसक्दा समस्या भइरहेको जानकारी दिए।
उनले लगानी प्रवर्धन गर्ने, नियमन गर्ने र बजार चलायमान बनाउने बिमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा स्वस्थ व्यक्ति पुग्न नसकेको बताए।
उनले मुलुकमा पछिल्लो समय आन्तरिक तथा बाह्य लगानीको वातावरण बन्न नसकेको उल्लेख गरे। उनले त्यसका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन जरुरी रहेको बताए।
पूर्वअर्थमन्त्री पुनले भने, ‘हाम्रोमा लगानी प्रवर्धन गर्ने, नियमन गर्ने र बजार चलायमान बनाउने बिमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन।’
उनले सरकार र नियमनकारी निकायबीच ट्युनिङ मिल्ने-नमिल्ने विषयले पनि बजारमा ऋण प्रवाह हुन नसकेको बताए। उनले निजी क्षेत्रको मनोबल अहिले पनि माथि उठ्न नसकेको दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।