काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ठूला १५ वटा सरकारी संघीय अस्पतालहरूका शय्या सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार संघीय स्वास्थ्य मन्त्रालयअन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६ शय्या छन्। तीमध्ये संघीय अस्पतालमध्ये सबैभन्दा धेरै शय्या वीर अस्पतालमा ९६० शय्या रहेका छन्। वीर अस्पताल नेपालकै जेठो सरकारी अस्पताल हो।
सबैभन्दा कम भने तनहुँको दुलेगौँडास्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ५० शय्या छन्। फोक्सोसम्बन्धी मात्रै स्वास्थ्य सेवा दिने विशिष्टीकृत अस्पतालको रूपमा केही वर्षअघि मात्रै सञ्चालनमा आएको थियो।
संघीय अस्पतालहरूलाई विशिष्टीकृत सेवा दिने रिफरल अस्पताल पनि हुन्।
अरू अस्पतालका शय्याहरूमा राष्ट्रिय ट्रमा सेन्टरमा २०० शय्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९१३ शय्या, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३०० शय्या रहेको छ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा ३८० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौँमा ४८९ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १०० शय्या, कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा ३७२, भक्तपुर क्यान्सर अस्पताल भक्तपुरमा १५० शय्या, भरतपुर अस्पताल चितवनमा ६०० शय्या रहेको छ।
यसैगरी नारायणी अस्पताल वीरगञ्जमा २५० शय्या, डडेल्धुरा अस्पताल डडेल्धुरामा १०० शय्या, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा ४५० शय्या र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ७२ शय्या रहेका छन्।
यसअघि मन्त्रालयले १८ वटा निजी मेडिकल कलेज शिक्षण अस्पतालका शय्या सार्वजनिक गरेको थियो। मन्त्रालयबाट अनुमतिप्राप्त ती मेडिकल कलेजका शय्या ६ हजार १०० थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।