|

काठमाडौँ :  राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ। एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ।

सरकारले जापनी इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो। 

एघारवटा रोगविरुद्धका खोपहरू शिशु जन्मेको १५ महिनाभित्र लगाइसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ। राष्ट्रिय खोप तालिकामा एचपिभी खोप समावेश गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरिसकेको छ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यो वर्षदेखि एचपिभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताए। नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान २०८१।८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ। यही माघ २२ गतेदेखि एचपिभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएको छ।

डा. गौतमले भने, ‘हरेक वर्ष नियमित खोप सेवामार्फत कक्षा ६ तथा विद्यालय बाहिर रहेका १० वर्षे किशोरीलाई खोप दिने लक्ष्य छ। विश्व क्यान्सर दिवसका अवसर पारेर १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिन लागिएको छ। आगामी वर्षदेखि फागुन महिनालाई नियमित एचपिभी खोप सेवा सञ्चालन गर्ने महिना निर्धारण गर्ने सोचेका छौँ । आव २०८२।८३ देखि नियमित एचपिभी खोप सेवा सञ्चालन गरिनेछ।’

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार १६९ जना महिलालाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ। हरेक वर्ष एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको मुखबाट मृत्यु हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.