काठमाडौं : नर्सिङहरूको साझा हकहितमा काम गर्ने एक मात्र संस्था ‘नेपाल नर्सिङ संघ’ले नयाँ कार्यसमिति पाएको छ। संघको २०औं कार्यसमिति चयनको लागि नर्सहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए।
१५ माघ २०१८ मा नर्सहरुले बनाएको यो संगठन विभिन्न समस्याहरू झेल्दै अघि बढेको छ। सुरुका दिनमा देशमा आवश्यक पर्ने नर्सिङ जनशक्ति उत्पादन गर्न नर्सिङ शिक्षा पढ्न आमनागरिकलाई प्रोत्साहन गर्न ठूलो भूमिका खेलेको यस संस्थाको नेतृत्वमा पछिल्लो दुई दशकयता एमालेनिकट प्यानलले मात्रै जित्दै आएको छ।
तर, पछिल्ला दिनमा भने संघमा विस्तारै प्रतिस्पर्धा हुन थालेको छ। जसले गर्दा संघमा पनि एकआपसमा गठबन्धन गरेर संघको कार्यसमिति चयन गर्दै आएको छ।
यसपटक पनि संघको निर्वाचनमा नेकपा एमाले र माओवादीनिकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका थिए भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त पेसागत प्यानल बनाएर उम्मेदवारी दिएका थिए।
जसमा संयुक्त प्रगतिशील प्यानलबाट अध्यक्षमा प्रा. चन्द्रकला शर्मा नेतृत्वको प्यानल नै विजयी भएको छ। शनिबार साँझ सकिएको मतगणनामा शर्मा प्रतिस्पर्धी रहेकी संयुक्त पेसागत प्यानलकी गंगाकुमारी थापाभन्दा झण्डै दोब्बर मतान्तरले अध्यक्षमा विजयी भएकी हुन्।
शर्माले २१५० मत पाउँदा थापाले १३५० मत ल्याइन्। यस्तै, अध्यक्षकी अर्की उम्मेदवार बसन्ती थापाले भने २८२ मत ल्याइन्। वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा २०६० मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कल्पना श्रेष्ठ जोशीले १५९७ मत पाइन्।
यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे २०११ मतका साथ विजयी हुँदा उनकी प्रतिस्पर्धी मनिषा कोइरालाले १५७० मत पाइन् । महासचिवमा पनि शर्मा प्यानलकै डा. देवकाकुमारी आचार्य विजयी भइन्। उनले मिनाकुमारी कार्की १३४७ र जानकी धामी ६२२ मतलाई पराजित गरिन् । सचिवमा बेली पौडेल र कोषाध्यक्षमा तुलसादेवी अधिकारी विजयी भए।
वर्तमान केन्द्रीय सरकारमा सरकार पक्ष र प्रतिपक्ष रहेका एमाले र माओवाली नर्सिङ संघमा भने एकै ठाउँमा रहेर काँग्रेस निकट संयुक्त पेसागत प्यानललाई हराएको हो।
विभिन्न ७ वटा एजेण्डाहरु अघि सार्दै चुनावमा होमिएको प्रा शर्मा प्यानललेसो समूहले निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोके बमोजिमको तलव सुविधाका लागि पैरवी गर्ने, रात्रीकालिन सेवामा खटिने नर्सलाई एक दिनको तलव बराबर र सार्वजकि बिदा तथा चाड पर्व विदामा काम गर्नेलाई यथोचित भत्ताका लागि पहल गर्ने।
यस्तै, जोखिम भत्ता तथा सुरक्षाको सुनिश्चितता, नर्सिङ क्याम्पसमा विश्वविद्यालयको मापदण्ड अनुसार फ्याकल्टीको व्यवस्था, स्कुल हेल्थ नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयहरुमा दरबन्दी विस्तार, ५० भन्दा बढी कामदार रहेको उद्योगमा औद्योगिक नर्सको व्यवस्थाका लागि पहल गर्ने बताएको छ।
अध्यक्षका उम्मेद्वार प्राडा शर्माले भनिन् ‘नर्सहरुको पेशागत हकहित, अधिकार, बृत्तिविकास, स्वच्छ शैक्षिक बातावरण निर्माण, कार्यस्थल सुरक्षा सुनिश्चितताको लागि थप जिम्मेवार ढंगले काम गर्न आफ्नो समूहको उम्मेद्धारी दिएको र अब सोही अनुरुप काम गर्नेछु।’
अर्को महत्वपुर्ण कुरा के छ नेपालमा विरलै मात्रै पुरुषहरु नर्सिङ शिक्षा पढ्ने प्रचलन रहेकामा यही नर्सिङ पेशा अपनाएर संघमा आवद्ध भएका रमेश सुब्बा संघको इतिहासमानै पहिलो पटक संघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन।
नेपालमा नर्सिङ विधाको सुरुवात २०१३ सालदेखि भएको थियो । त्यसभन्दा अगाडि सहायक नर्सिङ मिडवाइफरी (अनमी) थिए। अनमीले डेलिभरी र सुत्केरी हेरचाह गराउने काम गर्थे । तर नेपालमा पनि रजिष्ट्रर नर्सको आवश्यकताको महसुस भइ सरकारले २००९ सालमा रुकमणि चरण श्रेष्ठ र उमादेवी दासलाई भारतमा अध्ययन गर्न पठायो ।
नेपालमा सरकारी तहबाट नर्सिङ जनशक्ति आफ्नै देशमा उत्पादन गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा २०१३ सालमा सुरेन्द्र भवन (ललितपुर) बाट ‘स्कुल अफ नर्सिङ’ कार्यक्रम सुरु भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।