पर्वत : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरूको मूल्याङ्कन गर्न लागेको हो। यो पुरस्कारको राशि दुई हजार अमेरिकी डलर अर्थात् झन्डै दुई लाख ६० हजार माथिको पुरस्कार राशि रहेको छ।
सर्वोत्कृष्ट पुस्तक पुरस्कारका साथै कविता, कथा, उपन्यास, निबन्ध/नियात्रा/संस्करण, गीत/गजल/मुक्तक/हाइकु, समालोचना, लोक साहित्य, संस्कृति, बालकृत साहित्यको सर्वोत्कृष्ट कृति लगायतका विभिन्न १० विधामा पनि पुरस्कार प्रदान गरिँदै छ। पुरस्कारका लागि पुस्तकहरू दर्ता गर्न कृति नेपाली भाषामा लेखिएको हुनुपर्ने, पुस्तकको विधा प्रस्ट रूपमा छुट्टिएको हुनुपर्ने, पुस्तकको आवरणसहित कम्तीमा ६४ पृष्ठको हुनुपर्ने, पुस्तक सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ भित्रको मितिमा मुद्रण भएको हुनुपर्ने सर्त राखिएको छ।
निर्धारित मापदण्ड पूरा भएका पुस्तकको चार प्रति सन् २०२५ फेब्रुअरी २८ सम्ममा अनेसासमा प्राप्त भइसकेको हुनुपर्ने भनिएको छ। यसका अतिरिक्त लेखकले पुस्तकका साथमा पुरस्कार समितिले निर्धारण गरेको लेखक परिचय फाराम भरेर पठाउनु पर्ने अनेसास पुरस्कार समितिका संयोजक साहित्यकार तीर्थराज पाण्डेयले बताएका छन्।
आधार पूरा गरी आएका पुस्तकहरूलाई मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने र मूल्याङ्कनकर्ताहरूबाट प्राप्त भएको नतिजालाई सन् २०२५ जुलाई महिनामा भानु जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिने छ। अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीका अवसरमा अनेसासको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी. सी. मा एक विशेष समारोह आयोजना गरी पुरस्कार वितरण गरिने छ।
यसबारेको थप जानकारीका लागि अनेसासको वेब साइटमा विवरणहरू प्राप्त गर्न सकिने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।