ब्रेन डेथ भएकाको ‘अंग दान’ गर्न प्रोत्साहन गर्न सके धेरैको जीवन फर्कन्छ
ब्रेन डेथ भएकाको ‘अंग दान’ गर्न प्रोत्साहन गर्न सके धेरैको जीवन फर्कन्छ
काठमाडौँ : नेपालमा मिर्गौला प्रत्यारोपण सेवाको सुरुवात भएको दशक नाघिसकेको छ।
मिर्गौला, कलेजो जस्ता मानव शरीरका ठूला अंगको प्रत्यारोपण गर्न सरकारी तहबाटै विशिष्टीकृत सेवा दिनका लागि खोलिएको भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्र लगायतका ११ वटाभन्दा बढी स्वास्थ्य संस्थाबाट मिर्गौला प्रत्यारोपण सेवा रहे पनि मिर्गौला प्रत्यारोपणका लागि नेपालमा महिनौँ कुर्नुपर्ने बाध्यता छ।
एक हजार ३३५ भन्दा बढी मृगौला तथा ३० जनाको कलेजो प्रत्यारोपण गरिसकेको भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्रै अहिले पनि हजारभन्दा बढी विरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा रहेको केन्द्रले जनाएको छ।
यसरी प्रत्यारोपणको पर्खाइमा बसेकाहरू केही अंग दाता नभेटिएर र केही पालो कुरेर बसेका समेत छन्।
नेपालमा मिर्गौला कलेजो जस्ता अंग फेल भएर बसेकालाई प्रत्यारोपण गर्न सहज होस् भनेर भर्खरै मात्र मस्तिष्क मृत्यु (ब्रेन डेथ) पश्चात्को अंगदाता तथा ग्रहणकर्ताको प्रतीक्षा सूची सहितको राष्ट्रिय अभिलेखको अनलाइन सेवा सुरुवात गरिएको छ। यसबाट अंगदान सम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका विरामीको विवरण र मस्तिष्क मृत्यू भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमावलीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ।
साथै मस्तिष्क मृत्यु भएकाको अंग दान गर्ने व्यवस्था गरिएको भए पनि यो अझै प्रभावकारी हुन सकेको छैन।
बदेखि भने अंग प्रत्यारोपण गर्नुपर्ने विरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको सुरुवात भएको हो।
अनलाइनमार्फत अंगदान गर्ने जोकोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारी समेत पाउनेछन।
मस्तिष्क मृत्युपश्चात् तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अंग प्रत्यारोपण गर्न जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने‚ ‘विशेषगरी यो अनलाइन सेवामा मस्तिष्क मृत्यु भएकाको जानकारी राखिनेछ। त्यसपछि प्रत्यारोपणका लागि पर्खाइमा रहेका विरामीको जटिलताको आधारमा पालै पालो अंग पाउनु हुनेछ।’
दाता र लिन चाहने विरामी बढ्दै जाँदा अनलाइन प्रणालीले ताजा जानकारी दिने भएकाले यसले धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास लिइएको प्रत्यारोपण विज्ञ डा. कल्पना श्रेष्ठको भनाइ छ। ‘एकीकृत अनलाइन प्रणालीले अस्पताल र विरामी दुवैलाई धेरै सजिलो बनाउँछ’, उनले भनिन्।
यस्तै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सरकारले नागरिकका लागि निःशुल्क मृगौला प्रत्यारोपण तथा डायलासिस सेवा उपलब्ध गराइरहेको भन्दै धेरैको ज्यान बचाउन नागरिकका लागि मस्तिष्क मृत्युपश्चात् अंगदान प्रोत्साहन गर्न अनलाइन सेवाको सुरुवात गरिएको बताएका छन्।
केही समयअघि मष्तिष्क मृत्यु भएका नागरिकबाट अंगदान प्रवर्धनका लागि भन्दै हालै मात्र दाताको परिवारलाई २ लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय स्वास्थ्यमन्त्री पौडेलले गरेका थिए।
देशको सरकारी प्रत्यारोपण सम्बन्धी एकमात्र विशिष्टीकृत अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले वर्षेनि ३ हजार अपेक्षित मध्ये २ सय लाई मात्र मृगौला प्रत्यारोपण सुविधा दिन सकेको छ।
यस्तै प्रत्यारोपण बाहेकका अस्पतालमा रहेको प्रत्यारोपण सेवामा पनि जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने भएकाले मष्तिष्क मृत्यु भएपछि दान गर्ने दाता कम भएका कारण कैयौंले दाता अभावमा ज्यान गुमाउनु परिरहेको छ।
तर मस्तिष्क मृत्यु भएकाको अंग दान भएर प्रत्यारोपण गर्न सकिने अवस्थामा भने यो संख्या बढ्ने डा. श्रेष्ठको भनाइ छ।
स्वास्थ्यमन्त्री पौडेलले मस्तिष्कमृत्युपछिका दाता बढाउन दान अभियान प्रवर्धन तथा प्रत्यारोपण सेवा विस्तार गर्ने नीति लिएका छन्।
सरकारले २०७२ साल माघमा मानव अंग प्रत्यारोपणसम्बन्धी कानुन ल्याएर-२०७३ मंसिरमा ब्रेन डेथ नियमावली जारी गरेदेखि एकको अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने व्यवस्था भएको थियो। ब्रेन डेथ भएर अंग झिक्ने व्यक्तिको शरीरमा प्राकृतिक रूपमा श्वासप्रश्वास नरहेको चिकित्सकहरूले प्रमाणित गरेपछि अप्रेसनमार्फत उक्त व्यक्तिको मिर्गौला, फोक्सो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा, आँखा लगायतका, मानव अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने चिकित्सकले बताउँदै आएका छन।
नेपालमा अन्य अंगको तुलनामा आँखा धेरै दान भएको छ। चिकित्सकका अनुसार अंगदान दुई प्रकारले गर्न सकिन्छ- जीवित दाताले गर्ने अंगदान र मृतकले गर्ने अंगदान। जीवित अवस्थामै कसैको ज्यान बचाउन एउटा मिर्गौला, कलेजोको केही खण्ड, फोक्सोको केही भाग लगायत अन्य दान गर्न सक्छन् भने मस्तिष्क मृत्यु पछि हुने अंगदानमा मिर्गौला,आँखा, कलेजो लगायतका अंग समेत दान गर्न सकिन्छ।
कस्तो छ नेपालमा प्रत्यारोपणका लागि अंग लिने व्यवस्था
अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार नेपालमा परिवारका सदस्य र नजिकका नातेदारले अंग (मिर्गौला) दान गर्न सक्ने व्यवस्था छ। ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, झड्केलो बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन्।
यसका साथै ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन्।
धर्मपुत्र, धर्मपुत्री राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा कम्तीमा २ वर्षदेखि अटुट रूपमा नाता सम्बन्ध कायम रहेको अवस्थामा मात्रै मिर्गौला दान गर्न पाइने ऐनमा व्यवस्था छ।
समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ब्रेन डेथ भएका व्यक्तिको अंग झिकेर अर्काकोमा प्रत्यारोपण गर्न सकिने कानुन ल्याएको ६ वर्षभन्दा बढी भइसक्दा पनि ब्रेन डेथ भएकाहरूको अंग झिकेर अर्कामा प्रत्यारोपण गर्न नसकिएको डा. श्रेष्ठको भनाइ छ। हालसम्म नेपालमा धर्मभक्त प्रत्यारोपण केन्द्रबाट हालसम्म जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण गर्न सफल भएको छ।
स्वास्थ्य मन्त्रालयले मस्तिष्क मृत्युपश्चात् अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेको छ।
यसअघि अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। यस्तै अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ ।
देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन् र उनीहरूले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर गर्नु परिरहेको छ।
हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ। मृत्युपश्चात् हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने प्रत्यारोपण केन्द्रका प्रमुख डा. श्रेष्ठ बताउँछन्।
स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार आर्थिक रूपले विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गराउँदा मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख रुपैयाँसम्म र अन्य रोगका लागि १ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग दिने व्यवस्था छ।
मिर्गौलाका विरामीले हप्ताको २ सेसन र त्योभन्दा बढी हेमोडाइलासिस गर्नुपर्ने विरामीले प्रतिसेसन २५ हजार रुपैयाँ, अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका विरामीलाई प्रतिसेसन हेमोडाइलासिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलासिस प्रतिप्याकेज ५०१ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिकामा छ।
विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार प्रत्येक १० जनामध्ये १ जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको छ। नेपालमा पनि वर्षेनि करिब ३ हजारजनाको मिर्गौला बिग्रिने गरेको र उनीहरूमध्ये धेरैको मिर्गौला फेर्न नपाउँदा अकालमै मृत्यु हुने गरेको छ।
देशभर ११ वटा अस्पतालमा प्रत्यारोपण सेवा
पहिलोपटक प्रत्यारोपण सेवा गरिएको ११ वर्षको अवधिमा अहिलेसम्म देशभर चार सरकारी सहित ११ वटा अस्पताल तथा प्रतिष्ठानले मिर्गौला प्रत्यारोपण गरिरहेका छन्। शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र भक्तपुर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रदेश अस्पताल रहेका छन्। विशेषगरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्यअनुरूप सेवा दिइरहेको केन्द्रले जनाएको छ।
यस्तै निजी अस्पतालमा ग्राण्डी इन्टरनेशनल अस्पताल, सुमेरु अस्पताल, निदान अस्पताल, किष्ट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज भरतपुर रहेका छन्।
कस्ता चिकित्सकले पाउँछन् अंग प्रत्यारोणको लाइसेन्स
मानव शरीरको अंग प्रत्यारोपण नियमावलीको मापदण्डअनुसार नेपालमा प्रत्यारोपण सर्जन र नेफ्रोलोजिस्टलाई अंग प्रत्यारोपणको उपचारका लागि लाइसेन्स दिने व्यवस्था रहेको छ।
नियमावलीमा नेफ्रोलोजिस्टको हकमा अनुमतिपत्र लिन मान्यताप्राप्त शिक्षण संस्थाबाट नेफ्रोलोजीमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा स्नातक (डिप्लोमा) उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा कम्तीमा निरन्तर दुई वर्षको कार्यानुभव हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नियमावलीमा उल्लेख छ।
नियमावलीमा सर्जनको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा युरोलोजी अथवा जनरल सर्जरीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित विषयमा निरन्तर दुई वर्षको कार्यानुभव प्राप्त गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित विषयमा दुवैको (नेफ्रोलोजिस्ट सर्जन)का लागि कम्तिमा एक वर्ष प्रत्यारोपण हुने स्वास्थ्य संस्थामा कम्तिमा एक वर्ष मिर्गौला प्रत्यारोपण सम्बन्धी फेलोसिप समेत गरेको हुनुपर्ने उल्लेख छ।
स्वास्थ्य मन्त्रालय, अंग प्रत्यारोपण समन्वय समितिका अनुसार हाल देशभर अंग प्रत्यारोपणका लागि ६४ भन्दा बढी चिकित्सकले लाइसेन्स लिएका छन्। जसमा चार भारतीय चिकित्सक हुन्। यसरी अंग प्रत्यारोपणका लागि लाइसेन्स लिने चिकित्सकमध्ये १८ जना कलेजो प्रत्यारोपणका लागि समेत अनुमति प्राप्त चिकित्सक हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।