चिसो मौसममा सकभर विहान मर्निङ वाकमा नहिँड्नुस्, चिसो पानी धेरै नचलाउनुस्
चिसो मौसममा सकभर विहान मर्निङ वाकमा नहिँड्नुस्, चिसो पानी धेरै नचलाउनुस्
काठमाडौँ : चिसो मौसममा प्रायः सबैलाई सताउने स्वास्थ्य समस्या हो- रुघाखोकी, ज्वरो जस्ता मौसमी संक्रमण।
यस्तै रुघा, खोकीजस्तै गर्मी मौसमको तुलनामा जाडोमा बढी जोखिम हुने स्वास्थ्य समस्या हो- मस्तिष्कघात अर्थात स्ट्रोक।
चिसोकै कारण नियमित शारीरिक कसरत कम हुँदा अथवा खानपानको तालमेल नमिल्दा चिसो मौसममा उच्च रक्तचाप जस्ता समस्या धेरै देखिने गर्छन् भने उच्च रक्तचापको समस्या भोगीरहेकाहरुको समेत रक्तचाप ठिक ठाउँमा हुँदैन यसले गर्दा उच्च रक्तचाप तथा कोलस्ट्रोल धेरै भएका व्यक्तिहरूमा चिसो मौसममा मस्तिष्कघातको जोखिम बढ्न सक्छ।
उच्च रक्तचाप र कोलस्ट्रोलको समस्या भएका व्यक्तिहरूमा मस्तिष्कघातको उच्च जोखिम हुने गर्छ। धेरैले चिसो मौसममा अल्छी गरेर औषधि बीचैमा छाड्दा धेरैमा एक्कासी मस्तिष्कघात भएको पाइने बताउँछन् वरिष्ठ स्नायुरोग विशेषज्ञ डा प्रकाश काफ्ले।
‘चिसोले गर्दा नियमित शारीरिक अभ्यास कम हुन्छ, खानपानमा ध्यान नदिने र शारीरिक व्यायाम पनि कम हुने हुँदा यस मौसममा उच्च रक्तचाप जस्ता समस्या भएका स्ट्रोकका जोखिममा रहेकाहरुलाई स्ट्रोक हुने सम्भावना धेरै हुन्छ‚’ उनले भने।
चिसोको कारण धेरैले यो मौसममा पानी थोरै खानेहरुको पनि स्ट्रोकको जोखिम बढ्ने बताउँछन्- अर्का स्नायु रोग विशेषज्ञ डा मोहन शर्मा। उनका अनुसार जाडोमा पानी कम पिउनु स्ट्रोकको जोखिम बढाउने कारक तत्व हो। अर्को कारण भनेको नसा बन्द हुनु हो। चिसो मौसममा मस्तिष्कमा रगत प्रवाह हुने सान-साना नसा बन्द हुने भएकाले मस्तिष्कघात धेरै भएको पाइन्छ।
यस्ता लक्षण देखिए सावधानी अपनाऔँ
उच्च रक्तचाप, मधुमेह जस्ता स्वास्थ्य समस्या भएकाहरु स्ट्रोकका जोखिममा धेरै हुने गर्छन्। यो भन्दैमा अरु मानिसलाई यसको जोखिममा हुँदैन भन्ने होइन खराब जीवनशैली हुने, खानपानमा ध्यान नदिनेहरु पनि यसको जोखिममा हुन्छन्।
त्यसैले जो कोहीमा एक्कासी आकस्मिक रूपमा अनुहार बांगो भए, बोली लरबराए, मुटुको चाल गडबड भए वा धेरै रिङटा लाग्यो वा बान्ता भयो भने वा टाउको धेरै दुख्यो, हातखुट्टा झम्झमाउने जस्ता समस्या एक्कासी देखिएमा स्ट्रोकको लक्षण हुनसक्छ।
त्यसैले यस्ता स्वास्थ्य समस्या एक्कासी देखिए तत्काल विरामीलाई अस्पताल लैजानुपर्ने डा काफ्लेको भनाइ छ।
स्ट्रोक भएको ४ घन्टाभित्र अस्पताल लगियो भने विरामीलाई छिटो निको बनाउन सकिन्छ। स्ट्रोक भएको ४ घन्टाभित्र अस्पताल पुगेका ९० प्रतिशत विरामी उपचारपछि आफ्नो काम आफैँ गर्न सक्ने हुन्छन्।
कसरी बच्ने स्ट्रोकबाट
बदलिँदो जीवनशैली र खानपानका कारण युवा उमेरमै मस्तिष्कघात देखिने मुख्य हुन्छ। विश्वभर प्रत्येक ६ जनामध्ये एकजनालाई मस्तिष्कघात हुने गरेको पाइएको छ। मस्तिष्कघातको शिकार हुने गरेका छन्। तीमध्ये ५८ लाखभन्दा बढीको मृत्युको कारक यो मस्तिष्कघात हो।
मदिराजन्य पदार्थ, चुरोट बिँडी सेवन गर्ने युवामा कम उमेरमै मस्तिष्कघात भएको पाइएको छ। यस्तै धेरै जङ्क फूड सेवन गर्ने, तनावपूर्ण जीवन बिताउनेमा पनि मस्तिष्कघातको जोखिम बढ्दो छ।
त्यसैले यसबाट बच्न आफूलाई तनावमुक्त राख्ने, दैनिक कम्तिमा ७ देखि ८ घन्टा निदाउनु पर्छ। यस्तै अन्य मौसमको तुलनामा चिसो मौसममा स्ट्रोकको उच्च जोखिममा रहेकाहरू (उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मोटोपन) भएकाहरुले विशेष सावधानी अपनाउनुपर्छ।
चिसो मौसममा विहान मर्निङ वाकमा नहिँड्ने, खाली खुट्टा नहिँड्ने, पानी धेरै पिउने, सकेसम्म धुम्रपान तथा मद्यपान नगर्ने र चिसोमा विहानै हुस्सु लागेको समयमा घरबाट निस्कनु हुँदैन।
यो मौसममा सकेसम्म विहानै मोटरसाइकलमा नहिँड्ने, चिसोमा अचानक बेस्सरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सककहाँ गई उपचार गराइहाल्नुपर्छ।
चिसो मौसममा स्ट्रोकबाट बच्न सकेसम्म धेरै चिसो पानी नचलाउने तथा चिसो पानीले नुहाउनु हुँदैन। तातो पानीले नुहाउँदा पनि सकेसम्म विहानभन्दा पनि दिउँसो नुहाउने गर्नुपर्छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वार्षिक डेढ करोडभन्दा बढी मानिस मस्तिष्कघातको सिकार हुने गरेका छन्। तीमध्ये ५८ लाखभन्दा बढीको मृत्यु हुन्छ। विश्वभर प्रत्येक ६ जनामध्ये एकजनालाई मस्तिष्कघात हुने गरेको पाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।