काठमाडौं : बिहीबार मात्रै वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्ये आमा र छोराको निसास्सिएर मृत्यु भयो।
यस्तै, बिहीबार बेलुकी टोखा नगरपालिका ६ धापासीस्थित कुँवर कोलोनी नजिकै एक घरमा हिटर ताप्ने क्रममा हिटरको ग्यास अचानक लिक भई आगलागी भयो। उक्त घटनामा मानवीय क्षति नभए पनि चिसो भगाउनको लागि हिटर ताप्ने क्रममा सानो असावधानीले गर्दा घरमा क्षति नै पुग्ने गरी आगलागी भयो।
यी प्रतिनिधि घटना मात्रै हुन्। जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्नको लागि घर भित्र बालिने आगो, विद्युतीय हिटर, गिजर जस्ता उपकरणहरुको प्रयोग गर्दा पर्याप्त सावधानी नहुँदा अप्रिय घटना बर्सेनि हुने गरेको पाइन्छ।
यसरी जाडो भगाउनैको लागि यस्ता उपायहरु अपनाउँदा सावधानी अपनाउन सकिएन भने तत्कालको लागि आगो लागि भएर भौतिक संरचनामा क्षति मात्र पुग्ने होइन अर्कोतर्फ आफ्नै स्वास्थ्य सुरक्षाको लागि भन्दै चिसोबाट बच्न बालिने यस्ता विद्युतीय उपकरणहरुले आफ्नै स्वास्थ्यलाई नै हानि गरिरहेका हुन्छन्।
हिटर बाल्दा झ्याल ढोका बन्द गर्नु घातक
आगो ताप्न बालिने हिटर, कोइला जल्ने क्रममा धेरै कार्बनमोनोअक्साइड निस्कन्छ, यस्तो वेला झ्यालढोका बन्द गर्दा मानिसलाई अक्सिजन पुग्दैन र कार्बनमोनोअक्साइडले गर्दा विस्तारै मानिस बेहोस हुन्छ।
झ्यालढोका बन्द गरेर हिटर वा कोइला ताप्दा अक्सिजन नपुगेर मानिस एक्कासि बेहोस् हुने र समयमै उपचार नपाए मृत्युसमेत हुने त्रिवि शिक्षण अस्पतालका फिजिसियन विशेषज्ञ डा मिलन गैरेको भनाइ छ।
यस्तै, लामो समयसम्म हिटर ताप्ने गर्दा तत्कालको लागि शरीरलाई न्यानो बनाए पनि दीर्घकालीन रूपमा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई झन् थप असर गर्ने हुनाले सावधानी अपनाउन आवश्यक हुन्छ।
विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न। लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने,घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ। विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्नेसमेत डा गैरेले बताए।
“धेरै गर्मी र शरीर सुक्खा बनाउँछ धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले छाला फुट्ने चाउरीपन देखापर्ने, हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ तर, लामो समयसम्म नजिकै राखेर हिटर ताप्दा आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा,नाक सुक्खासम्म बनाउँछ,दैनिक हिटर ताप्दा शरिरर धेरै सुक्खा भएमा नाकबाट रगत पनि बग्न सक्छ त्यसैले जाडोबाट बच्न भन्दै हिटर ताप्दा सावधानी अपनाउनु पर्छ' डा गैरेले भने।
नजिकै बसेर हिटर ताप्नु हुँदैन सकेसम्म हिटर ताप्दा १० सेन्टिमिटर टाढा राखेर हिटर ताप्ने गर्नसमेत उनको सुझाव छ।
यस्तै यो मौसममा मानिसहरुले जाडोकै कारण शरीरलाई चाहिने मात्रामा प्रयाप्त पानी सेवन कम गर्ने र यस्तो बेलामा दैनिक हिटर ताप्दा शरिर झन् सुक्खा हुने हुँदा शरीरमा राम्रोसँग रक्तसंचार नहुने जोखिम हुन्छ। जसले गर्दा आगो तथा हिटर ताप्दा प्रयाप्त मात्रामा पनिसमेत सेवन गर्नुपर्ने डा गैरेको भनाइ छ।
यसो गरेमा हुने छैन दुर्घटना
चिसो मौसममा न्यानो बनाउन हिटर कोइला बालेर आगो ताप्दा सकेसम्म खुला हावा खेल्ने ठाउँमा ताप्नुपर्ने यदि घरभित्र ताप्ने हो भने झ्यालढोका खुला बनाएर हावा खेल्न दिनुपर्ने हुन्छ।
आगो तापिसकेपछि त्यसलाई पूरै निभाउने र सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गरेर झ्याल खुला गरेर सुत्नुपर्ने उनले बताए।
आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्ने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्नुपर्छ।
यसैलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतमा पर्याप्त सावधानी अपनाउन आग्रह गरेको छ।
विशेष गरी हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न,हिटर तथा आगो ताप्नै पर्ने खण्डमा पनि छिटो जल्ने खालका कपडा प्रयोग नगर्न केन्द्रले आग्रह गरेको छ।
यस्तै हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने , न्यानो हुन्छ भन्दै रातभर हिटर तथा विद्तिय म्याटहरु बालेर नसुत्न समेत केन्द्रले आग्रह गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।