काठमाडौं : नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सावधानी अपनाउन आग्रह गरेको हो ।
बिहीबार साउदीबाट फर्किएका एक युवामा मंकिपक्स पोजेटिभ देखिएको थियो। संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्लाह लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि आग्रह गरेको छ। यस्तै निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन आग्रह गरिएको छ।
यो रोग संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ। यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ।
यो रोगका कारण आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ। मङ्किपक्स विश्वभरी हाल १११ देशमा फैलिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।