काठमाडौँ : नेपाल विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनी गत शुक्रबार नियुक्त भएका छन्। नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्थाअनुसार नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय संरक्षण परिषद्को पहिलो बैठकले उनलाई चार वर्षका लागि कुलपति पदमा नियुक्ति गरेको हो।
उक्त विश्वविद्यालयको सरंचना भने अझै बनेको छैन। गत भदौ २४ गते नेपाल विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो। राष्ट्रियसभामा २०७९ मंसिर २० मा दर्ता भएको उक्त विधेयक माघ १३ गते शिक्षा समितिमा दफावार छलफलका लागि पठाइयो।
समितिको प्रतिवेदनसहित २०८० असार १० मा पेश भएको विधेयक असार १८ गते राष्ट्रियसभाले पारित गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज २३ गते नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै विश्वविद्यालय सञ्चालनको बाटो खुलेको छ तर अझै संरचना निर्माण गरी शैक्षिक कार्यक्रम सुरु भएको छैन।
कहाँ र कस्तो मोडलमा खुल्दै छ ?
शिक्षा मन्त्रालयले अहिले सूचना प्रविधिको विस्तार भई विभिन्न नवीनतम विषय आइरहनुका साथै मौलिक विषयको संरक्षण गर्न आवश्यक रहेको जनाएको छ। अन्तरविधात्मक अवधारणाका विधातर्फ गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्ने र त्यसका लागि काठमाडौँ उपत्यका बाहिर नै विश्वविद्यालय र यसको केन्द्रीय कार्यालय रहने गरी नेपाल विश्वविद्यालय विधेयक प्रमाणीकरण भएकाे छ।
उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी तथा समयसापेक्ष बनाई मुलुकको सर्वाङ्गीण विकासका लागि योगदान दिने सक्ने दक्ष, जिम्मेवार, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्ने उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी यो ऐन बनेको छ।
अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्) मा आधारित विश्वविद्यालय स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ। यो विश्वविद्यालयले आफ्नो आंगिक बाहेक अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिनेछैन। यो मूलतः सार्वजनिक स्वरूप संरक्षण परिषद्बाट विश्वविद्यालयको सञ्चालन, व्यवस्थापन र संरक्षण परिषद्को अध्यक्ष कुलपति हुने व्यवस्था र विभिन्न क्षेत्रका कार्यकारी रहनेछन्। आवश्यकतानुसार अनुसन्धान केन्द्र रहनेछ।
पूर्वाधार नीतिविज्ञ एवं विश्वविद्यालय पूर्वाधार विकास समितिका सदस्य डा.सूर्यराज आचार्यले अहिले नवलपरासीको गैँडाकोट नगरपालिकामा विश्वविद्यालयको केन्द्रीय कार्यालय बनाउने गरी काम भइरहेको जानकारी दिए। उनका अनुसार अन्य ठाउँमा पनि जग्गा हेर्ने काम भइरहेको छ।
’उपत्यकाबाहिर विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने व्यवस्थाअनुरूप गैंडाकोट नगरपालिकामा बनाउने योजना छ तर त्यहाँको जग्गामा पहिला तटबन्ध लगाउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ। यो बाहेक अन्य ठाउँमा पनि जग्गा हेर्दै छौँ। यसका लागि विभिन्न स्थानीय तहसँग छलफल हुँदै छ’, उनले भने।
एक,डेढ वर्षभित्र शैक्षिक कार्यक्रम सुरु हुने
विश्वविद्यालय पूर्वाधार विकास समितिका सदस्य आचार्यका अनुसार यो विश्वविद्यालय सञ्चालनका लागि अहिले टिम बन्दै छ। ‘कुलपति नियुक्त भइसक्नु भएको छ, अब उपकुलपति, रेक्टर लगायत पदाधिकारी नियुक्त हुन बाँकी छ, पहिला यो टिम बन्नुपर्छ,यो टिम बनाउने काम भइरहेको छ’, उनले भने।
कहिलेबाट शैक्षिक कार्यक्रम सुरु हुन्छ भन्ने प्रश्नमा भने उनले अबको एक, डेढ वर्षभित्रै शैक्षिक कार्यक्रम सुरु हुने जानकारी दिए। ‘अबको एक वर्षभित्र स्नातकोत्तर तहको कार्यक्रम र एक, डेढ वर्षपछि स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्छौ, अहिले पाठ्यक्रम निर्माणका लागि पनि छलफल भइरहेको छ’, उनले भने।
उनका अनुसार उपत्यका बाहिर नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय बनाउन समय लाग्नेछ। त्यसैले तत्कालका लागि अस्थायी रूपमा काठमाडौंबाटै सञ्चालन गरिने उनको भनाइ छ। ‘अस्थायी रूपमा काठमाडौँबाटै सञ्चालन सुरु गरिने छ र बाहिर बनेपछि स्थायी रूपमा बाहिरै केन्द्रीय कार्यालय राखिने छ’, उनले भने।
को हुन् नवनियुक्त कुलपति लोहनी ?
संरक्षण परिषद्का मनोनीत सदस्य मध्येबाट कुलपतिको चयन हुने ऐनको व्यवस्थाअनुसार डा. लोहनी कुलपतिको पदमा चयन भएका हुन्। सन् १९७० मा भारतको बिडला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा. लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।
नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेशागत जीवन सुरु गरेका लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एशियाली विकास बैकमा विभिन्न महत्त्वपूर्ण पदमा ३१ वर्ष कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ। सन् २००७ देखि सन् २०१५ सम्म एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारी बहन गरे।
यो विश्वविद्यालय पनि राजनीतिले लथालिङ्ग पार्ने चिन्ता
अहिले चलिरहेका विश्वविद्यालयहरू लथालिङ्ग छन्। दलीय राजनीतिले आक्रान्त छन् विश्वविद्यालय। पढ्ने पढाउनेभन्दा पनि बढी विभिन्न पार्टीका विद्यार्थी कार्यकर्ताहरूले विश्वविद्यालयहरूमा ताला लगाउने गरेका छन्। आन्दोलन भइरहेकै छन्। हाल पनि त्रिविमा विभिन्न मागसहित धर्ना दिइरहेका छन्।
नयाँ सञ्चालन हुन लागेको यो विश्वविद्यालय पनि त्यही अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ। भदौ २५ गते भएको विधेयकमाथिको छलफलमा पूर्व शिक्षामन्त्रीद्वय देवेन्द्र पौडेल र सुमना श्रेष्ठ, सांसदहरू नारायणप्रसाद आचार्य, रोशन कार्की, प्रेम सुवाल,मनीष झा, चन्द्रकान्त भण्डारी र रघुजी पन्तले छलफलमा भाग लिएका थिए।
त्यही बेला नै उनीहरूले उद्देश्य राम्रो भए पनि कतै अन्य विश्वविद्यालय जस्तै पार्टीको भर्तीकेन्द्र बन्ने पो कि भन्दै चिन्ता व्यक्त गरेका थिए। पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले त्यही बेला नै भनेका छन्, ‘सेन्टर अफ एक्सिलेन्सको रूपमा अनुदान ल्याएर विश्वविद्यालय बनाउँछौँ भनेर भनेपछि विज्ञहरूको सक्रियतामा यो विधेयक ल्याउन सहयोग गर्यौँ, यो विश्वविद्यालय थपेर बेथितिको निरन्तरता दिने होइन कि पुराना विश्वविद्यालयले गरेको बेथिति सच्याएर नयाँ काम सुरुवात गर्न यो आवश्यक छ।’
सांसद रोशन कार्कीले विश्वविद्यालयमा विज्ञको नाममा कार्यकर्ताहरू भर्ती नगरियोस् भन्दै माग गरिन्। ‘यो गैरनाफामूलक काम हो, सार्वजनिक विश्वविद्यालयको रूपमा आएको छ तर विज्ञको नाममा कार्यकर्ता भर्ती नगरियोस्’, उनले भनिन्।
यसैगरी प्रेम सुवालले पनि विश्वविद्यालयलाई पार्टीगत हुनबाट मुक्त बनाउनुपर्ने बताए। उनले भने, ‘पार्टीगत गर्नुहुँदैन, राजनीतिक रूपमा लाग्न हुँदैन, पार्टीको झण्डा बोक्ने होइन नेपालमै पढ्ने वातावरण बनाउने गरी विश्वविद्यालय सञ्चालन हुनुपर्छ।’
शिक्षामन्त्री विद्या भट्टराईले अहिले चलिरहेको विश्वविद्यालयभन्दा फरक ढंगबाट यो विश्वविद्यालय सञ्चालन हुने र विश्वविद्यालय उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा सञ्चालन हुने आश्वस्त पार्दै आएकी छिन्।
उनले त्यसैबेला छलफलमा उठेको प्रश्नको जवाफ दिँदै उनले भनेकी थिइन्, ‘उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी तथा समयसापेक्षा बनाई मुलुकको सर्वाङ्गीण विकासका लागि योगदान दिने सक्ने दक्ष, जिम्मेवार, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्ने उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा सञ्चालन हुनेछ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।