‘च्यातिएको होइन प्रत्येक वर्षकाे दीक्षान्तमा नयाँ लुगा हुनुपर्छ’

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ५०औँ दीक्षान्त समारोह आगामी १३ गते(शनिबार) दशरथ रंगशालामा आयोजना हुँदै छ। यही दीक्षान्तका लागि यतिखेर त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा गाउन, स्कार्फ र टोपी लिने विद्यार्थीहरूको घुइँचो छ।

त्रिविले बाँडेको स्कार्फ, गाउन र टोपी च्यातिएको त कुनै पुरानो भेटिएको छ। जसका कारण विद्यार्थीहरूले आक्रोश पोखेका छन्। सोमबार थाहाखबरकर्मी गाउन,स्कार्फ र टोपी बाँडेको ठाउँमा पुग्दा अधिकांश विद्यार्थी गाउन,स्कार्फ र टोपीमा असन्तुष्टि पोखे। एकजना दीक्षित हुन लागेका विद्यार्थीलाई च्यातिएको टोपी वितरण गरियो। उनले पछि फिर्ता ल्याएर अर्को लिन खोज्दा कर्मचारीले दिन आनाकानी गरे।

त्यसपछि उनी रिसाएर तर अन्तमा भने अनेक आग्रह गरेर उनले अर्को टोपी पाए। केही विद्यार्थीहरू गाउन, स्कार्फ र टोपी सानो/ठूलो भएको भन्दै साट्न खोज्दा पाएनन्। उनीहरू बारम्बार आग्रह गर्दा उल्टै कर्मचारीहरूले हप्काएको देखियो। गाउन,स्कार्फ र टोपी वितरण गरिरहेका एक कर्मचारी महिलाले रिसाएर भन्दै थिइन्, ‘एक चोटी बाँडिएपछि त्यति हो, त्यही लगाउने हो, सबैको मागअनुसार साटन सकिँदैन, सबै एउटै साइजको हो।’

दीक्षान्तको नाममा लुट 

त्रिविले दीक्षान्तको नाममा लुट चलाएको छ। दीक्षान्त भाग लिँदा एकजना विद्यार्थीले झण्डै पाँच हजार खर्च गर्नुपर्छ। जसमा गाउन,स्कार्फ र टोपीका लागि प्रतिविद्यार्थी ३ सय बुझाउनुपर्छ। पहिले नै १५ सय यसका लागि बुझाउनुपर्छ र पछि ३ सय मेन्टेनेन्सको नाममा कट्टा गरेर पनि १२ सय धरौटी राख्नुपर्छ। तर स्कार्फ, गाउन र टोपी भने पाँच वर्षअघि किनिएको बाँडिन्छ।

त्यही गाउन,स्कार्फ र टोपी यदि क्षति भएमा धरौटी रकमबाट स्कार्फ, टोपी र गाउनबापत क्रमश: तीन सय, चार सय र पाँच सय कटाइन्छ। दुईजना अभिभावक लैजान पाइन्छ जसका लागि प्रतिअभिभावक ३ सय तिर्नुपर्छ। त्रिविले एक वर्षमा दीक्षान्त गर्दा गाउन,स्कार्फ र टोपीबाटमात्रै लाखौँ रकम असुल्छ।

                               गाउन, स्कार्फ र टोपी लिनेहरूकाे भीड

​त्रिविका अनुसार गत वर्षको ४९ औँ दीक्षान्त समारोहमा २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट प्राप्त गरेका ७३ हजार ७४९ जना विद्यार्थी समावेश हुन योग्य भए पनि दीक्षान्त समारोहमा १२ हजार ४१५ जना विद्यार्थी सहभागी थिए। प्रतिविद्यार्थी ३ सयको हिसाबले त्रिविले गत वर्ष ३७ लाख २४ हजार पाँच सय रकम उठायो तर यो वर्ष पनि पुरानै गाउन,स्कार्फ र टोपी बाँडियाे। 

त्रिविका एक कर्मचारीका अनुसार यी गाउन,स्कार्फ र टोपी पाँच वर्षअघि किनिएका हुन्। तिनै लुगा धोएर प्याकिङ गरिन्छ र अर्को वर्ष त्यही वितरण गरिन्छ। ती कपडा नच्यातिएसम्म वर्षेनि दीक्षान्तमा प्रयोग हुने ती कर्मचारीले जानकारी दिए। ती लुगा एकपटक किनिएपछि पाँच वर्षसम्म प्रयोग हुन्छ।

पाँच वर्षको अवधिमा १४ हजार विद्यार्थीका दरले मात्रै हिसाब गर्दा ती लुगाबाटै त्रिविले २१ करोडभन्दा बढी रकम असुल्छ तर त्रिविले वर्षेनि रकम भने असुलिरहे पनि नयाँ नभई पुरानै बाँड्छ।

दीक्षान्तमा के अपेक्षा गर्छन् विद्यार्थी ? 

अधिकांश विद्यार्थीहरू सानैबाट दीक्षित हुने लक्ष्य राख्छन्। त्यसो त स्नातक,स्नातकोत्तर र एमफिल तह सकेपछि विद्यार्थीहरू त्रिविले गरेको दीक्षान्त समारोहमा भाग लिन्छन्। उक्त समारोहमा सहभागी हुँदा नयाँ गाउन,स्कार्फ र टोपी लगाउन पाउने, सम्मानका साथ प्रमाणपत्र लिइन पाइने र समारोह व्यवस्थित हुने अपेक्षा राख्छन्।

तर उनीहरूले राखेका ती अपेक्षा पूरा हुँदैन। यसअघिका दीक्षान्त समारोहमै अव्यवस्थित ढंगले कार्यक्रम हुने देखिसकिएको छ। प्रमाणपत्र लिनै विद्यार्थीहरूलाई सकस हुन्छ।

आगामी शनिबार दीक्षित हुन लागेका रमेश लामा (नाम परिवर्तन) भन्छन्, ‘पैसा तिरेपछि दीक्षान्तमा त नयाँ गाउन,स्कार्फ र टोपी लगाउन पाइन्छ होला भन्ने सोचेको थिएँ तर पुरानो पो लुगा लगाउनुपर्ने रहेछ, खर्च चाहि ५,६ हजार हुने रहेछ,खाजा पनि केही नपाइने,यसरी त के दीक्षित भएको भन्ने?,यो त सरासर दीक्षान्तको नाममा लुटधन्दा भइहाल्यो नि,’उनले भने। 

गाउन,स्कार्फ र टोली लिन आएका अर्का विद्यार्थीले पनि दीक्षान्त भन्दै विद्यार्थीहरूबाट रकम मात्रै असुल्ने गरेको गुनासो गरिन्। ‘बल्ल दुःख गरेर पढेर ब्याचलर पास गरियो र राम्रैगरी दीक्षान्तमा भाग लिन्छु भन्ने सोचेको थिएँ तर दाइदिदीका कुरा सुनेर त दीक्षान्त समारोहमा पनि खास केही नहुने रहेछ, खर्च चाहिँ ५,६ हजार हुन्छ, न नयाँ गाउन, स्कार्फ र टोपी लगाउन पाइने रहेछ न छान्न नै, यो त सरासर त्रिविले लुटेकै त हो नी’, उनले थाहाखबरसँग भनिन्।

उनका अनुसार ती लुगा ठूलो र सानो साइजका हुनुपर्थ्यो तर एउटा साइजका छन्। ‘गाउन त लगाउन मिल्ला तर कुनै टोपी त टाउँकोमै छिर्दैन,’उनले भनिन्। वर्षेनि हुँदै आएको दीक्षान्त समारोह पनि व्यवस्थित छैन। त्यसो त दीक्षान्त व्यवस्थित बनाउन प्रधानमन्त्री एवं त्रिवि कुलपति केपी शर्मा ओलीसमक्ष नै माग उठेको छ।

व्यवस्थित नभएमा बहिष्कार गर्ने समेत चेतावनी छ। स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले मंसिर २७ गते बसेको त्रिविको नीति अधिवेशनमा ओलीकै अगाडि यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने चेतावनी दिइसकेका छन्।

उनका अनुसार गत वर्षको त्रिवि दीक्षान्त व्यवस्थित नहुँदा विद्यार्थीहरूले सास्ती खेप्न बाध्य भए। उनले भने, ‘त्रिविको दीक्षान्त समारोह कस्तो हुन्छ?,हेर्नुस् त लाजमर्दो, गत वर्ष रंगशालामा कस्तो नाटक भयो, एकजना विद्यार्थीले दीक्षान्त भएको सर्टिफिकेट लिन कति सास्ती खेप्नुपरेको थियो, कोहीको नाम, थर गल्ती भएको थियो। यो वर्ष गत वर्षजस्तै दीक्षान्त गर्ने सोचिए हामी बहिष्कार गर्छौं।’

उनले दीक्षान्त समारोहको मोडल परिवर्तन गर्नुपर्ने माग गरे। नभए यसको औचित्य नै नरहने उनको भनाइ छ। ‘दीक्षान्तमा कोही विद्यार्थी खुसी छैनन्, दीक्षान्त हुँदा निराशाबाहेक केही दिन सकेको छैनौँ। त्यसैले व्यवस्थित ढंगले दीक्षान्त समारोह गरौँ, दीक्षान्तमा विद्यार्थीहरूलाई खुसी त बनाऔँ,’उनले भने। 

यो वर्ष १४ हजारभन्दा बढी दीक्षित हुँदै

यस वर्षको ५०औँ दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै छन्। त्रिवि स्टोर शाखा प्रमुख कटक मल्लका अनुसार स्नातक, स्नातकोत्तर र एमफिलका १४ हजार ३०७ जना विद्यार्थी दीक्षित हुँदै छन्।

७४ हजारभन्दा बढी विद्यार्थीहरू दीक्षान्त हुन योग्य थिए तर ती सबै सहभागी भएनन्। यो वर्षको यो दीक्षान्तमा पनि त्रिविले गाउन,स्कार्फ र टोपीबाट ४२ लाखभन्दा बढी रकम उठाउने देखिन्छ।

किन विद्यार्थीको आकर्षण छ दीक्षान्तमा ?

त्रिविले जे जस्तो ढंगले पैसा लिएर दीक्षान्त समारोह गरे पनि यसप्रति विद्यार्थीहरूको भने आकर्षण छ। एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टबाट गाउन,स्कार्फ र टोपी लिन आएका समीर भुसाल भन्छन्, ‘चार वर्ष दुःख गरेर पढियो र ब्याचलर इन्जिनियरिङ सकाइयो। त्यसैले दीक्षान्तमा भाग लिएको हुँ, घरपरिवारको पनि टोपी लगाएको हेर्ने इच्छा थियो, त्यो पूरा हुँदै छ, खुसी लागेको छ, घरबाट बुबा आमा आउनुहुन्छ, सँगै फोटो खिच्ने र त्यो फोटो राख्ने रहर छ।’

उनी चारवर्षे ब्याचलर इन्जिनियरिङ सकाएपछि दीक्षित हुन लागेका हुन्। एडभान्स कलेजबाटै उक्त लुगा लिन आएका अर्का सुशान्त ज्ञवाली पनि दीक्षित हुने सोख नै भएको बताउँछन्। ‘पहिला दाइदिदीहरूले टोपी लगाएको, उडाएको देखिन्थ्यो। त्यही सपना मेरो नी पूरा हुँदै छ,’ उनी भन्छन्, ‘आमा बुबासँगै टोपी उडाउने रहर छ, अरू समाजले पनि उसको छोरा त त्रिविबाट दीक्षित भयो भन्ने सोचून् भनेर भाग लिन लागेको हुँ।’ 

यसो भन्छ त्रिवि 

त्रिवि स्टोर शाखाका प्रमुख मल्ल भने पुरानै भए पनि नच्यातिएको गाउन, स्कार्फ र टोपी बाँडेको दाबी गर्छन्। उनका अनुसार च्यातिएको भएमा नयाँ नै खरिद गरिन्छ। ‘एकपटक किन्दा पाँच वर्षसम्म टिक्छ, एक दिन त लगाउने हो,नयाँ नै देखिन्छ, राम्रोसँग प्याकिङ गरेर राख्छौँ। त्यसैले नयाँ नकिनिएको हो, कुनै च्यातिएको भए अर्को नयाँ ल्याइहाल्छौँ,विद्यार्थीहरूलाई राम्रो नै वितरण गर्दै आएका छौँ,’उनले भने।

उनका अनुसार पुरानो ६ हजार गाउन,स्कार्फ र टोपी क्षति भएको थियो। त्यसैले यस वर्षको लागि ६ हजार नयाँ उक्त लुगा किनियो। गत वर्ष भने करिब १५ सय विद्यार्थीहरूले उक्त लुगामा क्षति पुर्‍याएका थिए। उनीहरूलाई जरिवाना गरियो। विद्यार्थीहरूलाई गर्व गराउन,पढ्न प्रेरित गराउन, अभिभावकहरूलाई खुसी पार्न लगायत उद्देश्यले वर्षेनि दीक्षान्त आयोजना हुँदै आएको त्रिविको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.