|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति (भिसी) प्राडा केशरजंग बराल पछिल्लो समय कार्यालय जान छाडेका छन्। उपकुलपतिको कार्यालयअगाडि विभिन्न माग राख्दै धर्ना दिइरहेका त्रिवि स्ववियु सचिव सिद्धान्त भट्टका अनुसार मंसिर २७ गतेदेखि उपकुलपति बराल कार्यालय गएका छैनन्। 

त्रिवि स्ववियु सचिव भट्टले १५ दिनदेखि विभिन्न माग राख्दै धर्ना दिइरहेका छन्। उनले मंसिर २६ गते धर्ना शुरु गरेका हुन्। यतिखेर पनि उनको धर्ना जारी छ। उनले ३५ बुँदे माग लिएर धर्ना शुरू गरेका हुन्। तर उनको यो धर्ना त्रिवि स्ववियुको तर्फबाट नभएकाे त्रिवि स्ववियुले जनाएको छ। भट्ट एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिविका अध्यक्ष हुन्। 

बाहिर भने यही धर्नाका कारण असुरक्षा भएपछि उपकुलपति बराल कार्यालय नगएको चर्चा चल्न थालेको छ। उपकुलपति बरालले केही सञ्चारमाध्यमसँग अफिसअगाडि नै धर्ना दिएकाले कार्यालय जान नसकेको बताएका छन्।

तर साँच्चै धर्नाकै कारण असुरक्षा बढेपछि कार्यालय नगएका हुन् वा आफ्नै अनिच्छाले नगएका हुन् भन्ने विषयमा कुरा गर्न त्रिवि उपकुलपति बराललाई सम्पर्क गर्दा उनीले फोन उठाएनन्।

त्रिविका एक विद्यार्थी नेताले आन्दोलनले अवरोध भएपछि त्रिवि उपकुलपति बराल कार्यालय आउन नसकेको बताए। ‘धर्नाले अवरोध भएपछि कार्यालय नआउनु भएको भन्ने छ,’ ती विद्यार्थी नेताले भने। तर आन्दोलनरत भट्ट यो कुराको प्रतिवाद गर्छन्।

उनले यसरी बाहिर बोलेर ‘स्टण्ट’ गरेको बताए। ‘म १५ दिनदेखि धर्ना दिइरहेको छु तर यो मेरो धर्नाले उहाँलाई कुनै असर गरेको छैन,उहाँको कुनै काम रोकिएको छैन, असुरक्षा पनि छैन, म शान्तिपूर्ण ढंगले धर्ना बसिरहेको छु तर बाहिर भने उहाँले अवरोध भएर कार्यालय नगएको भन्ने कुरा गरेर स्टण्ट गरिराख्नु भएको छ,’ उनले भने। 

त्रिविका सूचना अधिकारी भीमबहादुर श्रेष्ठ भने उपकुलपतिको व्यस्तताले कार्यालय नआएको र घरैबाट काम गर्दै आएको जानकारी दिए। ‘उहाँ कार्यालय नआउनु भए पनि घरैबाट काम गर्नुभयो, अब १३ गते त्रिवि दीक्षान्त समारोह आयोजना हुँदै छ, यही तयारीमा उहाँ व्यस्त हुनुभयो,’ उनले भने। 

माग सम्बोधन गर्न दबाब

एमालेनिकट संगठन र नेताहरूले तत्काल उक्त माग सम्बोधन गन त्रिवि उपकुलपति बराललाई दबाब दिइरहेका छन्। अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिवि उपकुलपतिलाई नियमित कार्यालय उपस्थित भई समस्या समाधानका लागि पहल गर्न आग्रह गरे।

उनले भनेका छन्, ‘त्रिवि क्याम्पस स्ववियु सचिव सिद्धान्त भट्ट विश्वविद्यालय सुधार र विद्यार्थीका शैक्षिक सरोकारहरूसँग सम्बन्धित ३५ बुँदे माग राखेर शान्तिपूर्ण धर्नामा बसिरहनुभएकोमा आफ्नो जिम्मेवारी र कार्यक्षमताको समीक्षा गरी विश्वविद्यालयमा उत्पन्न समस्या समाधानतर्फ गम्भीर बन्न त्रिविका पदाधिकारीज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

उच्चस्तरीय वार्ता टोली गठन गरी विद्यार्थीका जायज मागहरूमाथि गम्भीरतापूर्वक छलफल गरी उचित निष्कर्षमा पुग्नुपर्ने उनको माग छ। 

यस्तै, नेकपा एमालेका नेता विष्णु रिजाल पनि छलफल गरि माग सम्बोधन गर्नुपर्ने बताए।

‘त्रिवि सुधारको माग राख्दै स्ववियु सचिव सिद्धान्त भट्ट उपकुलपति कार्यालयमा निरन्तर अनशन बसिरहेका छन् तर हालसम्म कुनै पनि जिम्मेवार अधिकारीले उनीसँग सम्पर्क गरेका छैनन्,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘उनका माग व्यक्तिगत छैनन्, कति पूरा गर्न सकिन्छ? कति सकिन्न, उनलाई राखेर छलफल गर्नु र सम्झाउनुपर्नेमा यतिका दिनसम्म बेवास्ता हुनु दुःखद् छ, यसमा यथाशीघ्र ध्यान दिन र समस्या समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछु।’ 

एमालेनिकट अन्य विद्यार्थी नेताहरु पछिल्लो समय डीन नियुक्तिलगायत विषयलाई लिएर त्रिवि उपकुलपति बरालविरूद्ध खनिएका देखिन्छन्। उनीहरुले भिसी बरालले त्रिवि चलाउन नसक्ने अर्थात् अक्षम देखिएको समेत बताएका छन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बराललाई त्रिवि उपकुलपतिमा नियुक्त गरेको थियो। त्रिविका कुलपति भने हालका प्रधानमन्त्री केपी शर्मा ओली नै छन्।

हिजो भिसी कार्यालय आए, मागबारे प्रारम्भिक छलफल 

त्रिवि स्ववियु सचिव भट्टका अनुसार हिजो (मंगलवार) त्रिवि उपकुलपति बराल कार्यालय आएका थिए। उनले उठाएका मागकाे विषयमा प्रारम्भिक छलफल भयो।

‘हिजो उपकुलपतिलगायत सबै पदाधिकारी आउनु भएको थियो तर प्रारम्भिक मात्रै छलफल भयो, अरु त्यस्तो औपचारिक वार्ता, निर्णय केही भएन,’ उनले भने। त्रिविकै शिक्षा सुधार र विद्यार्थीको हकहितको लागि धर्ना बसेको उनको भनाइ छ।

आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पसमा छात्रवृत्तिमा समावेशी र पारदर्शी रूपमा कार्यान्वयन गराउनुपर्ने, शैक्षिक वर्षअगावै वार्षिक प्रणाली र सेमेस्टर प्रणालीमा भर्ना भएका विद्यार्थी सङ्ख्याको कम्तीमा ४० प्रतिशत हुने गरी छात्रवृत्तिको सम्पूर्ण विवरण सार्वजनिक गर्ने नीति तर्जुमा गरिनुपर्ने पनि उनको माग छ।

त्यस्तै, विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको क्रेडिट ट्रान्सफर गर्ने नीति समावेश गरिनुपर्ने, अध्ययन बिदामा रहेका, अध्ययन समयावधि समाप्त भएपछि पनि विश्वविद्यालयमा हालसम्म पनि हाजिर हुन नआएका प्राध्यापकहरूको तथ्याङ्क पत्ता लगाइ छानबिन गरी आवश्यक कारबाही गरिनुपर्नेलगायत ३५ बुँदै उनका माग छन्।

यी माग सम्बोधन नभएसम्म २४सै घण्टा धर्ना बस्ने उनको अडान छ। त्रिविका सूचना अधिकारी श्रेष्ठले भने हिजो (मंगलवार)देखि त्रिवि उपकुलपति बराल कार्यालय आउन थालेको बताएका छन्।

‘हिजोदेखि उहाँ आउनु भएको छ,अबदेखि उहाँ नियमित नै आउनुहुन्छ होला,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.