अख्तियारमा पनि पत्र पठाइयो

|

काठमाडौँ : नुवाकोटमा रहेको शेरा दरबारको १६८ रोपनी जग्गा दुरुपयोग भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको अनुसन्धानमा त्यहाँको जग्गा दुरुपयोग भएको पाइएपछि सरकारको नाममा ल्याउन पत्राचार गरेको हो।

सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त जग्गा नेपाल सरकारको नाममा ल्याउन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरिएको थाहाखबरसँगको कुराकानीमा जानकारी दिए।

अख्तियारले जग्गाका विषयमा विगतदेखि नै चासो राखिरहेकाले त्यहाँ पनि प्रतिवेदन पठाइएको सिआइबी स्रोतको दावी छ। सिआइबीले उक्त जग्गाको ४ महिना लगाएर अनुसन्धान गरेको हो। दरबारको १६८ रोपनी जग्गा हदबन्दीको प्रयोजनविपरीत भोगचलन गरेको भेटिएको थापाले बताए। 

पृथ्वीनारायण शाहले नुवाकोटमा १८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका थिए। शाह परिवारबाट नामसारी हुँदै सो जग्गा हेलेन शाह र जयन्ती शाहको नाममा पुगेको थियो। 

२०३६ सालमा हदबन्दी लागू भएपछि हेलेन र जयन्तीको नाममा रहेको बाहेकको झण्डै १६८ रोपनी जग्गा मालपोत कार्यालयबाट गौरीशंकर फार्मिङको नाममा राखिएको पाइएको छ। 

नुवाकोट घर भएका विकेश श्रेष्ठले २०४४ मा गौरीशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण फार्मिङको नाममा भोगचलन गरेका थिए। मालपोत कार्यालयको श्रेस्तामा केरमेट गरेर गौरीशंकर फार्मिङलाई ‘अन्नपूर्ण फार्मिङ’ बनाएको पाइएको प्रहरीको अनुसन्धानबाट भेटिएको छ।

२०६६ सम्ममा विकेश श्रेष्ठसहित ६ जना सेयर सदस्य भएर सो जग्गा भोगचलन गरेको भेटिएको प्रहरी स्रोतको भनाइ छ। अहिले भने अन्नपूर्ण फार्मिङ विकेश श्रेष्ठ र उनको परिवारका नाममा मात्रै रहेको प्रहरीको अनुसन्धानमा भेटिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.