|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

पाल्पा : पाल्पाको तानसेन नगरपालिकामा महिलाद्वारा साप्ताहिक सडक मेला सुरु भएको छ। मेला हरेक साताको शुक्रबार दिउँसो १ बजेदेखि आयोजना हुने आयोजकले जानकारी दिएका छन्।

तानसेन नगरपालिका-४ र मखनटोल टोल विकास संस्थाको आयोजना तथा सिटिज फर वुमेन (युनोप्स) को सहजीकरणमा टोल विकास संस्थाका महिलाकै अगुवाइमा सञ्चालन भएको हो। महिलाले उत्पादन गरेका सामग्री, परिकार, लघु तथा घरेलु उद्यमका सामग्री मेलामा प्रदर्शनी हुने टोल विकास संस्थाकीय अध्यक्ष ज्ञानु कार्कीले बताइन्।

महिलामैत्री सहर बनाउने अवधारणानुसार तानसेनको व्यस्त मखनटोलमा साप्ताहिक सडक मेला सुरु गरिएको तानसेन नगरपालिका-४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बताए। 

सडक मेलाको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र युनोप्सका कन्ट्री डाइरेक्टर कोमल कार्कीले उद्घाटन गरे। युनोप्सका सल्लाहकार सूर्य आचार्यले समाजका लागि गरिने विकासलाई दिगो बनाउन र जन चाहनानुसार नै विकास गर्ने योजनानुसार युनोप्सले काम गर्ने उनले बताए।

नगरपालिकाको ३० प्रतिशत र युनोप्सको ७० प्रतिशत लगानीमा महिलामैत्री पार्क निर्माणको काम अघि बढेको छ। 

साप्ताहिक सडकमेलामा स्थानीय खानाका परिकारहरूका २० देखि २४ स्टल सहभागी भई आफ्ना उत्पादनका साथै खानाका परिकार प्रदर्शनी तथा बिक्री वितरण गरिने तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए।

महिला नेतृत्वको बजार, संयुक्त अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ-४ सँग मिलेर मखनटोल टोल विकास संस्थाले महोत्सव आयोजना गरेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले बताइन्।

सडक मेलामा स्थानीय खानाका परिकारहरू बटुक, सेल, कोदोको सेल, नेवारी बारा, मिसमास, योमरी,झिनियाँ,चुकाउनी, छोयला, नेवारी रोटीका परिकार लगायत खानाका स्टल थिए।

महिला उद्यमीले तयार पारेका खानाका परिकारका साथै कोदोको पीठो, बेसार, हस्तकलाका सामग्रीसमेत राखिएको महिला उद्यमी ज्योति राजभण्डारीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.