छुटेको बजेट अन्तै खर्च, त्यसपछि छुट्याइएन बजेट

|

काठमाडौं : रौतहट, फतुवा विजयपुर नगरपालिका–१ की रबिताकुमारी मुखिया शीतलपुरस्थित दलित प्राथमिक विद्यालय कक्षा ३ मा अध्ययनरत छिन्। उनले अध्ययन सुरु गर्दै गर्दा सोचेको विद्यालय थियो– सुविधा सम्पन्न भवन, चिरिच्याँट्ट डेस्कबेन्च। उनको यो सोच सपना जस्तै भइरहेको छ।

स्कुल आउँदा नियमित पुस्तकसँगै बोरा लिएर आउनुपर्छ। त्यसपछि बोरा ओछ्याएर पढन् बस्छिन् भुइँमै उनी। उनी भन्छिन्, ‘स्कुलमा डेस्क, बेन्च, भवन, शौचालय केही पनि छैन,पढ्ने वातावरण छैन तर यो समस्या स्थानीय सरकार उदासीन छ।’ 

अर्का विद्यार्थी सुबोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताउँछन्। ‘फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने थियो’, उनी दुखेसो पोख्छन्, ‘तर कसैले व्यवस्था गरिदिदैनन्,भुइँमै बसेर पढ्नुपरेको छ।’ 

नेपालमा औपचारिक तवरबाट विद्यालय स्थापना भएको सय वर्षभन्दा बढी भइसकेको छ। सरकारले वर्षेनि शिक्षामा ठूलो रकम छुट्याउने गरेको अहिलेको स्थितिमा विश्वमा अनेकौं शैक्षिक प्रविधि विकास भइरहँदा नेपाली विद्यार्थीले पनि प्रविधिको उच्चतम प्रयोग गरी पढ्न पाउनुपर्ने हो।

स्थिति यस्तो छैन मात्र होइन कि विद्यार्थीहरू अझै पनि भुईंमै बसेर पढ्न बाध्य छन्। दलित प्राविमा बोरा ओछ्याएर पढिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्यापी भाइरल छ। यो समस्या अहिले मात्रै होइन विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् विद्यार्थीहरू। यसको व्यवस्थापन न केन्द्र सरकारले गरेको छ न त प्रदेश र स्थानीय तहले नै। यता सरकार भने भ्यू टावर निर्माण र उद्‍घाटनमा व्यस्त छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २३ गते झापाको दमक नगरपालिका–३ मा निर्मित १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । 

बजेट छुट्याइन्छ तर अन्तै खर्च

बकैया नदीको ‘ड्याम’मा गणेश महराले दिएको १० धुर जग्गामा २०६४ सालमा दलित प्रावि स्थापना भएको हो। भवनका नाममा दुईवटा स-साना छाप्रा छन् तर कुनै पनि फर्निचर छैन। उक्त विद्यालयका निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवका अनुसार घरबाट बोरा नल्याउनेले चिसो भुईंमा बस्नुपर्ने हुन्छ।

सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ। विद्यालयमा चारजना बाल विकास शिक्षिका, संघीय अनुदानका दुई शिक्षक र एक कार्यालय सहयोगी छन्। स्थापना भएको १७ वर्षमा एकजना पनि स्थायी शिक्षक छैनन्। नर्सरीदेखि कक्षा ५ सम्म १७५ विद्यार्थी छन्।

सोही विद्यालय स्थानान्तरणका लागि विजयपुर नगरपालिका-१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कट्ठा जमिन किनेर पाँचकोठे भवन बनाएका थिए। उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृद्धि प्रतिष्ठानका नाममा किनेका रहेछन्। विद्यालयका नाममा बजेट लिए पनि जमिन विद्यालयको नाममा नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए।

जनप्रतिनिधिहरूले उक्त विद्यालयलाई हेलासँगै राजनीति गर्दा हालसम्म समस्या समाधान हुन सकेकाे छैन।​ उक्त विद्यालय व्यवस्थापनका लागि बजेट भने छुट्याएको थियो तर अन्तै खर्च भयो। फतुवा विजयपुर नगरपालिका-१ का वडाध्यक्ष विजयकुमार यादवका अनुसार आव २०७७।७८ मै करिब ३५ लाख बजेट नगरपालिकाबाट विनियोजन भएको थियो।

तर तराई मधेश समृद्धिको नाममा त्यो बजेट खर्च गरियो। त्यसयता बजेट विनियोजन हुन नसकेको उनको भनाइ छ। ‘बजेट त छुट्याइएको थियो तर अन्तै खर्च हुँदा फर्निचर जोड्न सकिएन’,उनले भने।

नगरप्रमुख र मन्त्रीले विद्यालय बनाउन चासै लिएनन्  

नगरपालिकाका तत्कालीन शिक्षा शिक्षा शाखा प्रमुख मुकेश साहले नगरपालिकाका प्रमुखले चासो नदिएकै कारण विद्यार्थीहरू वर्षेनि भुइँमै बसेर पढ्न बाध्य भएको जानकारी दिए।

‘नगरप्रमुखको ध्यानै गएन। यस्तो अवस्था त अन्य ठाउँको विद्यालयमा पनि छ’, उनले भने। मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव सोही शहरका हुन् तर उनले पनि यो विद्यालयबारे चासो नदेखाएको उनको भनाइ छ। उक्त ठाउँमा सबै दलित विद्यार्थीहरू भएकाले नामै दलित प्राथमिक विद्यालय राखिएको उनको बताए।

विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेपछि हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुन छन्। उनले पनि विद्यालयको अवस्थाबारे चासो दिएकी छैनन्। फतुवा विजयपुर नगरपालिका प्रमुख गोपाल राय यादव २०८० मै भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।

दिवाखाजा रोकियो, शौच उखुबारीतिर

गत साउनदेखि उक्त विद्यालयमा दिवाखाजा पनि रोकिएको छ। विद्यालयका प्रधानाध्यापक यादवले पकाउने र भाँडा राख्ने ठाउँको अभाव भएकाले गत साउनदेखि विद्यार्थीलाई खाजा खुवाउन नसकेको तर्क राखे। शौचालयको अभावसमेत छ।

शौचालय अभावमा उनीहरू दिसापिसाब गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ। यतिमात्रै होइन,शिक्षकहरूले पनि विगत ७ वर्षदेखि तलब नपाउँदै गुनासो गर्दै आएका छन्। तत्काल नगरपालिकाले तलब उपलब्ध गराउनुपर्ने उनीहरूका माग छ। 

वडाध्यक्ष भन्छन् : एक महिनाभित्र फर्निचरको व्यवस्था हुन्छ

फतुवा विजयपुर नगरपालिका-१ का वडाध्यक्ष यादवले अबको एक महिनाभित्रमा फर्निचरको व्यवस्था हुने प्रतिबद्धता जनाए। उनले भने, ‘केही दिनमा १०-१५ वटा डेस्कबेन्च उपलब्ध गराउँदै छौँ, एक महिनाभित्रमा चाहिने सबै फर्निचरको व्यवस्था गर्ने छौँ।’

कार्यवाहक नगरप्रमुख खातुनले भने जग्गा अभावले विद्यालय बनाउन नसकिएको जवाफ दिएकी छिन्। उनले भनिन्, ‘विद्यालय बनाउने योजना थियो तर जग्गा नै छैन, त्यही भएर समस्या हुँदै आएको छ, तैपनि हामी पहल गर्दै छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.