फेरि बन्द भयो पानी

|

काठमाडौं : मेलम्चीको खानेपानी आज (सोमबार)देखि काठमाडौं उपत्यकामा पठाउन बन्द गरिएको छ। दुई दिनसम्म कम पानी पठाउने गरिए पनि आजदेखि पूर्ण रूपमा मेलम्ची पानी बन्द गरिएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार आयोजनाको ग्यालथुममा आदि पानी खोलामा पठाइएको छ भने थप आएको पानी सुन्दरीजलबाट बागमती नदीमा पठाइएको छ।

उनले खानेपानी पाइप मर्मत गर्नुपर्ने र यसका लागि पानी बन्द गरिदिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आग्रह गरेपछि पानी पठाउन बन्द गरिएको जानकारी दिए।

‘हिजोसम्म केही मात्रामा पानी पठाएका थियौँ,तर काम गर्न समस्या भयो पूरै बन्द गर्नु भन्ने केयुकेएलबाट आग्रह आएपछि आजबाट पूर्ण रूपमा पानी बन्द गरेका छौँ,अब कहिलेबाट पानी पठाइन्छ भन्नेमा चाहिँ केयुकेएलकै कामअनुसार उहाँहरूले भन्नुभएसी पठाउँछौँ,’उनले भने।

मेलम्चीको पानी बन्द गरिएको तीन महिनापछि अर्थात् गत असोज २२ गतेबाट वितरण थालिएको थियो। मेलम्ची नदीको बहाव बढेर बाढी आई धमिलिन थालेपछि मेलम्ची खानेपानी गत असार १० गतेदेखि बन्द गरिएको थियो।

जताततै पानी चुहावट, मर्मत गर्दा पानी नै बन्द

काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकहरूमा यतिखेर जताजतै पानी चुहावट भएको देख्न सकिन्छ। चाबहिल,चुच्चेपाटीलगायत क्षेत्रमा पानी चुहावट भएर सडकमै बग्ने गर्छ। कालोपुलमा मुख्य पाइपबाट सधैँ पानी चुहिरहेको देखिन्छ। जसकारण उपत्यकाबासीका घरमा पानी आउनेभन्दा पनि सडकमा बढी पानी बग्छ।

केयुकेएलका अनुसार काठमाडौं उपत्यकाभित्र तीन हजारभन्दा बढी यस्ता चुहावट हुने ठाउँ पहिचान भएका छन्। यी नै चुहावट भएको ठाउँ मर्मत गर्नुपर्ने हुँदा मेलम्ची पानी नै बन्द गर्नुपरेको केयुकेएलका सूचना अधिकारी चपला ढकालले जानकारी दिइन्।

‘अहिले जहाँ-जहाँ पानी चुहावट भएको छ,ती ठाउँहरूमा मर्मत भइरहेको छ,त्यसैले मेलम्चीको पानी बन्द गर्नुपरेको हो,’उनले भनिन्। यतिखेर चुच्चेपाटीमा ठूलो खानेपानीको पाइप हाल्ने काम भइरहेको छ। यी काम हुँदा एकातिर उपत्यकाबासीले खानेपानीबाट वञ्चित भएका छन् भने अर्कातर्फ सवारी जाम हुँदा यात्रुहरूलाई सकस भएको छ।

काम सक्न अझै तीन चार दिन लाग्छ : केयुकेएल

सरकारले मेलम्ची खानेपानी व्यवस्थित गर्न नसक्दा आयोजना सुरू भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि उपत्यकाबासीहरूले नियमित उपभोग गर्न पाएका छैनन्। सन् २००१ मा सुरू भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।

तर २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन। ०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ।

केयुकेएलका सूचना अधिकारी ढकालले चुहावट भएको पाइप मर्मत गर्न अझै तीन/चार दिन लाग्ने जानकारी दिइन्। उनले भनिन्,‘प्राविधिकहरूले पाइप बनाउन अझै तीन/चार दिन लाग्छ भनेका छन्,यी सबै काम सकेपछि मेलम्चीको खानेपानी आउँछ।’

केयुकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ। तर,यी मागअनुसार खानेपानी पूर्ति हुन सकेको छैन। मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३–१४ करोड लिटर पानी मात्रै आपूर्ति हुन्छ। त्यसो त उपत्यकामा सधैँ पानीको हाहाकार हुने गरेको छ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त उपत्यकामा दीर्घकालीन रूपमा अर्थात् १२ महिनै मेलम्चीको पानी ल्याउने हो भने हेडवर्क्स सार्नुपर्ने बताउँछन्। समितिका प्रवक्ता पन्त भन्छन्,‘एडिबीले लामो समयसम्म विज्ञहरूद्वारा अध्ययन गरेर हेडवर्क्स सार्न सुझाव दिएको छ, त्यसैले उपत्यकामा दीर्घकालीन रूपमा पानी ल्याउने हो भने हेडवर्क्स सार्नुपर्छ,यो आवश्यक नै छ,नभए अस्थायी रूपमा मात्रै पानी ल्याउन सकिन्छ,यसका लागि सरकारले पहल गर्नुपर्छ।’

खानेपानी आयोजनाको दातृनिकाय एसियाली विकास बैंक (एडीबी)ले दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको थियो। एडिबीले बनोट तथा बाढी पहिरोको जोखिमका कारण हेडवर्क्स सार्न सुझाव दिएको हो।

एडिबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ। यही आयोजनाको हेडवर्क्स सार्नको लागि एडिबीले २ अर्ब अनुदान पनि दिएको छ। तर, हालसम्म सरकारले हेडवर्क्स सार्नको लागि काम थाल्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.