|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सभापति, पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनामाथि आजबाट कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

अदालतमा यसअघि बयान लिइएकोमा सबैसँग बयान सकिएपछि आजबाट थुनछेक बहस सुरु भएको हो।  आजको बहसमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा लागेका उनीहरूलाई कारागार पठाउन सरकारी वकिलले माग गरेका छन्।

लामिछानेसहित ७ जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुस ७ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बयान सकिएपछि थुनछेक बहस थालिएको हो।

सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले अनुसन्धानका क्रममा देखिएका तथ्य प्रस्तुत गर्दै मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने माग गरिन्।

अर्की सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले सहकारीको मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर सहकारी ठगी भएको दावी गर्दै सहकारीमा सर्वसाधारणले राखेको बचत रकम विभिन्न कम्पनीमा लगेर संगठित रूपमा हिनामिना भएको दावी प्रस्तुत गरिन्।

विसं २०८० असोज १८ गते सूर्यदर्शन सहकारी ठगीका विषयमा दायर गरिएको अभियोगपत्रमा सहकारी पीडितले दिएको पूरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप अभियोग र पूरक अभियोगपत्र दर्ता भएको हो।

सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हर्ब्स प्रालिलगायतमा पैसा लगिएको र त्यो पैसा प्रतिवादीहरू छविलाल जोशी, रवि लामिछाने, जिबी राई, कुमार रम्तेल, रामबहादुर खनाललगायत कम्पनीका संचालकहरूले संगठित रूपमा हिनामिना गरेका दावी गरिएको छ।

यसरी लगिएको रकमलाई शुद्धिकरण गर्न लेयरिङ गर्दै लगेको देखिएकाले निजहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग सरकारी वकिलको छ। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, रामप्रसाद खनाल, मीना गुरूङ, आरति गुरूङ र कृष्णबहादुर गुरूङ प्रतिवादी छन्। 

इजलासमा सरकारी वकिलले प्रतिवादीहरूले संगठित रूपमा सहकारीको रकम अपचलन गरेको विषय राख्दै गर्दा प्रतिवादी कृष्णबहादुर गुरूङ इजलासमै रोए। 

८० वर्षका गुरूङ बेलायती सेनाबाट अवकाशप्राप्त हुन्। सरकारी वकिलले आरोपत्रअनुसार बहस गरिरहँदा उनी आफूमाथि झुटो आरोप लगाएर मुद्दा चलाइएको भन्दै रोएका इजलासमा सहभागी एक वकिलले बताए। उनी रोएपछि उनकी छोरी मीना गुरूङ र उनका साथी आरति गुरूङ पनि इजलासमै रोएका थिए।
 
प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरे, हरि सुवेदीलगायतले बहस गर्दै छन्। 

थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ। 

जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धिकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो असुल र सोही अनुसारको जरिवाना र कैदको माग गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.