|

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले हिजो (बिहीवार)आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा उपत्यकामा मेलम्चीको पानीको आपूर्ति बन्द नहुने बताएका छन्। मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द भए पनि अब बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताएका छन्।

उनले भने, ‘विगतमा बर्खा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुन्थ्यो, अब भने बर्खामा पनि ल्याउने गरी काम गरिरहेका छौँ।’ तर उपत्यकावासीहरूले उक्त कुराको विश्वास गरेका छैनन्। किनभने यसअघि नै १२ महिनै मेलम्ची खानेपानी आउने भन्दै मन्त्रीहरूले आश्वासन दिए पनि त्यो हालसम्म पूरा हुन सकेको छैन।

सरकारले मेलम्ची खानेपानी व्यवस्थित गर्न नसक्दा आयोजना सुरु भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि उपत्यकावासीहरूले नियमित उपभोग गर्न पाएका छैनन्। सन् २००१ मा सुरु भएको आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको थियो।

तर २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन। २०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ।

सरकारले वर्षेनि आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने वेला पनि दीर्घकालीन रूपले पानी ल्याउने घोषणा गरे पनि हालसम्म त्यो घोषणामै सीमित बनेको छ। सरकारले यसअघिको वर्षातको समयमा पानी ल्याउने बताए पनि आउन सकेन।

मेलम्ची पानीबारे यसो भन्छ समिति 

हालसम्म मेलम्ची खानेपानीको व्यवस्थापन, मर्मत सम्भार, पानी बन्द गर्ने, पठाउने लगायत काम मेलम्ची खानेपानी विकास समितिले गर्दै आएको छ।

खानेपानी मन्त्रीले के आधारमा आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीकाे पानी आउँछ भनेका हुन्, मन्त्रीले भनेजस्तै बर्खामा पानी ल्याउने सम्भावना  छ त ? भन्ने प्रश्नमा समितिका कार्यकारी निर्देशक रत्न लामिछाने भने, ‘तत्कालै जसरी पनि आगामी वर्षाको वर्षातदेखि पानी आउँछ भन्न चाहिँ सकिँदैन तर सम्भावना चाहिँ छ।’

उनका अनुसार वर्षातमा पनि कसरी पानी ल्याउने भनी अध्ययन भइरहेको छ। ‘वर्षातको समयमा मेलम्ची खोला वरपरका पानीका अन्य स्रोत खोजेर त्यही टनेलबाट ल्याउन सकिन्छ कि भन्ने योजनासहित अहिले अध्ययन भइरहेको छ, यदि अरू स्रोतको पानी जुटाउन सक्यो भने पानी ल्याउन सकिन्छ, सम्भावना चाहिँ छ, त्यसैले खानेपानीमन्त्रीले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्ची खानेपानी आउँछ भन्नु भएको होला’, उनले भने।

खानेपानी मन्त्रीले पनि मेलम्ची नजिकैको अर्को खोलाको पानी पनि काठमाडौं ल्याउने विषयमा अध्ययन भइरहेको बताएका छन्। ‘मेलम्चीको पानी कुनै कारणवश ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौं पानी ल्याउने गरी काम भइरहेको छ’, उनले भने।

खानेपानी आयोजनाको दातृनिकाय एसियाली विकास बैंक (एडीबी)ले दीर्घकालीन रूपमा अर्थात् १२ महिनै मेलम्चीको पानी काठमाडौंमा ल्याउने सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको थियो। एडीबीले बनोट तथा बाढी पहिरोको जोखिमका कारण हेडवर्क्स सार्न सुझाव दिएको हो।

एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ। यही आयोजनाको हेडवर्क्स सार्न एडीबीले २ अर्ब अनुदान पनि दिएको छ।

तर हालसम्म सरकारले हेडवर्क्स सार्नका लागि काम थाल्न सकेको छैन। त्यसैले पनि यसअघि देखिएका समस्या/अभ्यासले वर्षातकाे समयमा पानी बन्द हुँदैन अर्थात् १२ महिनै आउँछ भन्न सकिँदैन। बरु, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मेलम्ची खानेपानी आयोजनामा हालसम्म ३१ अर्ब ३४ करोड ९ लाख रुपैयाँ खर्च भएको महालेखा परीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख छ।

जताततै पानी चुहावट, मर्मत गर्दा पानी नै बन्द

समितिले मेलम्ची नदीको बहाव बढेर बाढी आई धमिलिन थालेपछि मेलम्ची खानेपानी गत असार १० गतेदेखि बन्द गरेको थियो। मेलम्चीको पानी बन्द गरिएको तीन महिनापछि अर्थात् गत असोज २२ गतेबाट वितरण थालियो।

तर पानी काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकमा चुहावट भयो। चाबहिल, चुच्चेपाटीलगायत क्षेत्रमा पानी चुहावट भएर सडकमै बग्ने गर्छ। कालोपुलमा मुख्य पाइपबाट सधैँ पानी चुहिरहेको देखिन्छ। जसकारण उपत्यकावासीका घरमा पानी आउनेभन्दा पनि सडकमा बढी पानी बग्छ।

यही चुहावट मर्मत गर्दा मेलम्चीकै पानी बन्द गर्नुपर्ने अवस्था छ। पुस १५ मा यही चुहावट भएको ठाउँमा पाइप हाल्नुपर्दा मेलम्ची पानी नै पठाउन बन्द गरियो। अहिले भने पुन: वितरण थालिएको समितिले जनाएको छ। ‘एक दिनका लागि पानी बन्द गरियो, अहिले त पहिला जस्तै पानी आइरहेको छ’, समितिका कार्यकारी निर्देशक लामिछानेले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.