|

काठमाडौं : पुसको चिसो बिहानमा घामको तापमा रमाइरहेको थियो सुकेधारास्थित बाग्मती बोर्डिङ स्कुलको प्राङ्गण। शनिबारको दिन भए पनि मान्छेको आवतजावतले भिड देखिन्थ्यो। शनिबार सदा बन्द रहने स्कुलमा भिड देख्दा बाटो हिँड्ने बटुवाहरू पनि गेट छिरेर निहालिरहेका थिए।

केही छिनमा एकपछि अर्को गर्दै पूर्व अर्थमन्त्री महेश आचार्य, पूर्व उपकुलपति विष्णुविभु घिमिरे, लेखक तथा समालोचक डा. गोविन्द भट्टराई, कलाकार मनोज गजुरेल, गायक शिशिर योगी, कवि, अधिवक्ता, पत्रकार तथा समाजका विभिन्न तह र तप्काका व्यक्तिहरू जम्मा हुन थाले।

त्यहि भीडमा थिए डा. सुरेन्द्र सिटौला। उनी आगन्तुकहरूलाई स्वागत गर्न व्यस्त थिए। कार्यक्रम थियो बागमति बोर्डिङ स्कुलको आयोजनामा सिटौलाको  नयाँ कविता संग्रह ‘स्वर्गको बस्ती’ सार्वजनिक कार्यक्रम। एकछिनमा कार्यक्रम प्रस्तोता सरोज घिमिरेले कार्यक्रम पाँचौ तलमा भएको सबै जना माथि जान अनुरोध गरे।

करिब तीन सय जना व्यक्तिहरू हलमा जम्मा भए। कविता कृति किन्ने र पढ्नेहरूले एक एक प्रति लिए। कार्यक्रमको उद्घाटन सुरू भएपछि घिमिरेले कविता कृति क-कसले पाउनु भयो भन्दै मञ्च र दर्शक दिर्घामा बसेका सबैलाई हातमा लिएको कृति उठाउन भने।

सबै जनाले एकैपटक पुस्तक उठाए। लगत्तै घिमिरेले डा. सिटौलाको नविनतक कविता संग्रह ‘स्वर्गको बस्ती’ विमोचन भएको उद्घोष गरे। ताली पररर बज्यो। लगत्तै गायक योगीले उक्त माहोलमा आफ्ना दुई गीत ‘यो देशमा म मानिस खोजिरहेछु’ र ‘सारंगी त रेटे पनि’ भन्ने बोलको गीत सुनाए।

सामूहिक रूपमा पुस्तक विमोचन भएपछि  पुस्तकमाथि बोल्दै पूर्वमन्त्री आचार्यले सिटौलाको कवितामा भावना शिक्षा दर्शन चेतना र अनुभवको संगालो भेटिने बताए।

समयको पाठशालामा मानिसले

महाभारतको युद्ध पढ्यो

गीताको सार पढेन...

(ईश्वरले किन मान्छे बनायो)

‘कविको चेतनामा परिष्कार भावना र अनुभूति रहेको छ’, उनले भने।

त्यस्तै पूर्व कुलपति घिमिरेले सरल भाषामा असरल्ल भावहरू कसरी बुन्न सकिन्छ यसको उदाहरण पुस्तकमार्फत सिटौलाले दिएको टिप्पणी गरे।

‘औसत सर्जकहरूको आँखामा, अनुभूतिमा नपरेका. त्यति महत्व र भाव नपाएका सूक्ष्म विषयहरूलाई काव्यिक  रूपमा यति सुन्दर प्रस्तुति दिन सक्नु कविको विशेषता हो’, घिमिरेले भने।

देश आजभोलि एक्लै छ

देश बचाउने औषधि जोहो गर्न

धरतिपुत्रहरू

अरबी संसारको श्रमबजारमा भेटिन्छन्...

(देश र परिवेश)

समालोचक डा.भट्टराईले वर्तमान स्थितीमा हाम्रो देश अनेक प्रकारहको विभाजन, विद्रुपता, विसंगति र विवेकहिनताले व्याप्त रहेको समयमा यी कविता यस्तो वर्तमान समाजमा केही उज्यालो पुर्यािउन सकिन्छ कि भनि चेतना-चिराग बोकेर हिँडेको कविका सन्देश जस्ता लाग्ने बताए।

‘यो संग्रह तीन तत्वको संघर्षको कथा हो। ती तत्व हुन् विज्ञान. भौतिकवाद र ईश्वर’, उनले भने, ‘कविता सामयिक सुन्दर र विविध अर्थ भावले भरिएका छन्।‘

विडम्बना!

छातिभरी पिडा बोकेर

सन्तान हराउने कारण सोध्दा

देश पटक्कै बोल्दैन

हराउने कारण थाहा भए पनि

सत्य कुरा उ खोल्दैन...

(मध्यान्हमा सूर्य अस्ताउँदा)

कवि सिटौलाले आफ्नो ब्रह्मले सिकाएको  आत्मबोधका अभिव्यक्तिहरूकै बाहुल्यता पुस्तकमा समेटिएको उल्लेख गरे।

पुस्तकमाथि कलाकार गजुरेललगायत अन्य व्यक्तिले साहित्य लेखन समाजलाई सकारात्मक उर्जा दिने खालको हुनुपर्ने पनि टिप्पणी गरे।  

कार्यक्रममा शोभा खनाल, चक्र दवाडि, रामरञ्जन पौडेलले कविता संग्रहभित्रका कविता वाचन गरे। करिब ६३ वटा कविताहरू संग्रहित उक्त पुस्तक मञ्जरी पब्लिकेशनले निकालेको हो। सिटौलाको यसअघि ‘देश र परिवेश’ कविता संग्रह प्रकाशित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.