|

काठमाडौँ : सरकारले हरेक नयाँ शैक्षिक सत्र (वैशाख १ गते) शुरू हुनुसाथै देशैभरि नयाँ भर्ना अभियान थाल्छ। सरकारले चालू २०८१ को नयाँ भर्ना अभियान ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ  वैशाख २ गतेदेखि झण्डै एक महिना देशभर नै चलाएको थियो।

भर्ना अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, मन्त्रालयलगायत निकायको सहभागिता र तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तरक्रिया गर्ने कार्यक्रम राखियो।

वैशाख २ देखि २१ गतेसम्म रेडियोबाट अभियानबारे सन्देश प्रसारण भयो। वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम र वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम भएको थियो। उल्लेख्य संख्यामै यस वर्ष विद्यार्थी भर्ना भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार ०८१ को शैक्षिक सत्रमा पूर्वप्राथमिक (बालविकास केन्द्र)मा १३ लाख ७ हजार ३३९ जना विद्यार्थी भर्ना भइ अध्ययनरत छन्। यस्तै, आधारभूत तह (कक्षा १-५) मा ३६ लाख ४१ हजार ९२० जना विद्यार्थी अध्ययनरत छन्।

अन्य तहमा कति ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत हरि श्रेष्ठले जानकारी दिए अनुसार हाल २०८१ को शैक्षिक सत्रमा आधारभूत (कक्षा ६-८) मा १८ लाख ६३ हजार २६६ विद्यार्थी अध्ययनरत छन्।

माध्यमिक तह (कक्षा ९-१०) मा १० लाख ४७ हजार ७०५ जना अध्ययनरत छन्। माध्यमिक (कक्षा ११-१२) मा ७ लाख २६ हजार ९७६ विद्यार्थी अध्ययनरत छन्।

हाल कुल ८५ लाख ८७ हजार २०६ विद्यार्थी अध्ययनरत रहेको जानकारी उनले दिए। ‘सबै विद्यार्थी भर्नासहितको तथ्यांकलाई हेर्दा अहिले (शैक्षित्र सत्र २०८१)मा अध्ययनरत विद्यार्थीहरूको संख्या ८५ लाख ८७ हजार २०६ जना रहेको पाइयो,’ उनले भने।

३५ हजारभन्दा बढी विद्यालय सञ्चालनमा

हाल सामुदायिक विद्यालय, संस्थागत र परम्परागत गरी देशभर ३५ हजार ८७६ विद्यालय सञ्चालनमा रहेका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हाल देशभर सामुदायिक विद्यालय २६ हजार ६०६ वटा सञ्चालनमा छन्। त्यस्तै, संस्थागत ७ हजार ८८६ वटा विद्यालय र परम्परागत विद्यालय १ हजार ३८५ वटा सञ्चालनमा छन्। 

पढ्दापढ्दै हराउँछन् विद्यार्थी

सरकारले यसैगरी हरेक वर्ष तामझामका साथ नयाँ भर्नाको अभियान थाले पनि बीचमै पढाइ छाड्ने विद्यार्थीकाे संख्या​ भने बढ्दै गएकाे छ। याे समस्या विकराल बन्दै गएको छ तर सरकारले यसको कारणबारे भने कुनै अध्ययन गरेको छैन। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार २०७१ सालमा ११ लाख ३६ हजार ४३३ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए। तर २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ५ लाख ४ हजार विद्यार्थीलेमात्र फाराम भरेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

उनका अनुसार तीमध्ये पनि ४ लाख ७५ हजारले मात्र प्रवेशपत्र लिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षामा अनुपस्थित रहे।

देशभरबाट ४ लाख ६७ हजार जनामात्र परीक्षामा उपस्थित भए। एसइईमा ३७ हजार विद्यार्थी अनुपस्थित रहे। २०७१ सालको भर्ना संख्यालाई हेरेर कक्षा १० सम्म आइपुग्दा ६ लाख ३२ हजार ४३३ जना विद्यार्थीले बीचमै पढाइ छाडेको देखिन्छ।

शिक्षा मन्त्रालयले कात्तिक २३ गते सार्वजनिक गरेको प्रतिवेदनसहितको ‘विद्यालय शिक्षा क्षेत्र योजना २०७९-०८८’ मा पनि अहिले विभिन्न कक्षामा विद्यार्थीको कक्षा छाड्ने र कक्षा दोहोर्‍याउने कारणले हरेक वर्ष कक्षा १ मा भर्ना भएकामध्ये करिब १६.५ प्रतिशत विद्यार्थीले आधारभूत तह पूरा गर्नुपूर्व नै विद्यालय छाडेको पाइएको उल्लेख। 

यस्तै २४ प्रतिशत बालबालिका आधारभूत तहबाट माध्यमिक तहमा पुग्न नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। शिक्षाविद्हरूले गरिबी, चेतनशील समाज नहुँदा, शिक्षा प्रणाली राम्रो नहुँदा, अन्तरराष्ट्रिय बसाइसराई, बेरोजगारीलगायत कारणले विद्यार्थीहरूले स्कुल छाड्दै गएको बताउँदै आएका छन्।

सरकारले किन बीचमै यसरी विद्यार्थीहरू पढाइ छाड्छन् र उनीहरू कहाँ-कहाँ के कसरी बसिरहेका छन् भनी विद्यार्थीहरूको ट्रयाकिङ गर्ने व्यवस्था हुने बताए पनि हालसम्म उक्त व्यवस्थाअनुसार गर्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.