|

काठमाडौँ : काठमाडौँमा आगामी शनिवारदेखि प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुने भएको छ।

नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुन लागेको हो। दुईदिने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। 

जितकुण्डो मार्सल आट्र्स संघले काठमाडौँमा बिहीवार पत्रकार सम्मेलन गर्दै दक्षिण एशियामा पहिलोपल्ट हुन लागेको एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिताबारे जानकारी दियो। 

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी कुल ७० खेलाडीले प्रतिष्पर्धा गर्नेछन्।

आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले ब्रुस ली खेल र सिद्धान्तबाट शुरु भएको यो खेललाई नेपालमा विकास गर्न अन्तरराष्ट्रिय प्रतियोगिता आवश्यक रहेकाले दक्षिण एशियाली च्याम्पियनशिप गरिएको बताए।

प्रतियोगितामा पुरुषमा ५ र महिलामा २ गरी ७ स्पर्धामा प्रतिष्पर्धा गर्नेछन्। पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ। महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा  प्रतिष्पर्धा हुनेछ। 

हरेक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए। 

स्वर्ण विजेतालाई ४१ हजार र अन्य पदक विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको उनको भनाइ छ। कुल पुरस्कार राशि ३ लाख ५० हजार रुपैयाँ रहेको छ। 

नेपालबाट हरेक तौलसमूहमा ३ खेलाडीको प्रतिष्पर्धा रहनेछ। प्रतियोगितामा टोखा नगरपालिकाको मुख्य प्रायोजन छ। प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। 

प्रतियोगितालाई लक्षित गरी नवौँ टेडवाङ जितकुण्डो सेमिनार बिहीवार बत्तीसपुतलीमा शुरु भएको छ। दुईदिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन्। 

दोस्रो दिन शुक्रवार रेफ्री सेमिनार हुनेछ। मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले प्रशिक्षण दिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.