बैतडी : जानकी थापाको अलराउन्ड प्रदर्शनमा प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बनेको हो। जितका लागि पाएको ७२ रनको लक्ष्य बैतडीले १२ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
जितमा बैतडीकी कप्तान रितु कनौजियाले अविजित २२ रन र जानकी थापाले अविजित १४ रन बनाए।
बलिङमा कञ्चनपुरकी मन्जु विष्टले २ विकेट हात पारिन्।
यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रनमात्र बनायो।
उसका लागि रेवती धामीले ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बैतडीका लागि जानकी थापाले २ विकेट खसालिन्। उनी नै प्लेयर अफ द फाइनलसमेत चुनिइन्।
बैतडीकी कप्तान रितु कनौजिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन्। कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदीयमान खेलाडी बनिन्।
विजेता,उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन दीपक विष्ट, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रदेश क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार वितरण गरे।
समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चन्दले क्रिकेटलाई सबैको साझा खेल बनाउने बताए। क्रिकेटलाई व्यावसायिक बनाउने र महिला प्रिमियर लिग पनि आयोजना गरिने उनले बताए।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको खेलाडी तयारी निर्देशक एवं ओलम्पियन विष्टले क्रिकेटले नेपाललाई विश्वभरि चिनाएको बताए। उनले चन्द नेतृत्वको क्यानले क्रिकेट विकासका लागि गरेको कामको प्रशंसा गरे।
केन्द्रीय सदस्य सावदले बैतडी क्रिकेटको उर्वर भूमि भएको बताउँदै यहाँका धेरै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेको बताए।
सुदूरपश्चिम प्रदेश क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गते शुरू भएको प्रतियोगितामा प्रदेशका ७ टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रदेश क्रिकेट संघले जनाएको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गते धनगढीमा शुरु हुँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।