काठमाडौँ : नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा कम्पनीकै कारण बीमा क्षेत्रमा समस्या आएको आरोप लगाएका छन्।
बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले बीमा कम्पनीहरुमाथि यस्तो आरोप लगाएका हुन्। उनले बीमा क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या बीमा कम्पनीहरुकै कारण आएको उल्लेख गरे।
उनले बीमाको प्रिमियम र दावी भुक्तानीको समस्या बीमा कम्पनीहरुकै कारण बढेको आरोप पनि लगाए। उनले यी समस्या समाधान गरेर बीमा कम्पनीहरुले आफूलाई सुधार गर्नु आवश्यक रहेको बताए।
‘बीमा क्षेत्रमा बीमा कम्पनीहरुकै कारण विभिन्न समस्या सिर्जना भएका छन्। बीमाको प्रिमियम बढी भयो, क्लेम पाइएन भन्ने छ। बीमा क्षेत्रमा २/३ वटा जुन समस्या छन्‚ ती बीमा क्षेत्रले सिर्जना गरेका हुन्‚’ उनले भने, ‘बीमकले बीमा गरेको रकम दावी भुक्तानी पाउन धेरै ढिला हुने गरेको छ‚ यसमा सुधार गर्न आवश्यक छ।’
उनले बीमा क्षेत्रमा सबैभन्दा ठूलो चुनौतीका रुपमा बीमा साक्षरता रहेको देखिएको बताए। उनले बीमा क्षेत्रले उद्योगी व्यवसायीदेखि सर्वसाधारणमा समेत बीमा साक्षरता जगाउन आवश्यक रहेको उल्लेख गरे।
उनले उद्योगी व्यवसायीहरुको बीमाले लागत बढाउने मात्रै काम गर्यो भन्ने गुनासो जायज नभएको भन्दै बीमाले उद्योगलाई सुरक्षित गरेको कुरा भुल्न नहुने बताए।
उनले बीमाले उद्योग व्यवसायको संरक्षण गरेको दावी गरे। उनले बीमाका विषयमा सबैलाई साक्षर बनाउन नसकेको बीमा क्षेत्रले स्वीकार गर्नुपर्ने बताए।
उनले पछिल्लो समय जीवन बीमा सरेण्डर गर्नेको सख्या बढ्दै गएको भन्दै त्यसको समाधानका लागि प्राधिकरणले गर्नुपर्ने काम गर्न तयार रहेको उल्लेख गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।