|

काठमाडौँ : प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि विक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ।

विभागले औषधिपूरक सामग्री विक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि विक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि विक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागको स्वीकृतिविना आयात भएका यस प्रकारका औषधिको सुरक्षा, गुणस्तरीयता र मूल्य सार्थकता यकिन नहुने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम सृजना भएको बताए।

विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्त्व र ‘ब्रान्ड’सँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्तै नगरी आयात गरी औषधि पसलमार्फत उपलब्ध गराउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी र विरामीमा भ्रम सृजना भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ।

फर्माको पियामा (औषधिको आधिकारिक विवरण भएको पुस्तिका) मा उल्लेख भएका र उपचारमा प्रयोग हुने भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावट (ट्याब्लेट, क्याप्सुल, झोल)का औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित मल्हम, क्रिम, सौन्दर्य प्रशाधन सामग्रीका नाममा आयात गरी विक्री वितरण भइरहेको गुनासो आएकामा बजार अनुगमन तथा निरीक्षण गर्दा विभागमा दर्ता नभएका ती औषधि चिकित्सकको सिफारिसमा पुर्जामार्फत औषधि पसलबाट विक्री वितरण भइरहेको पाइएको सूचनामा उल्लेख छ।

सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादन विक्री वितरण गरेको पाइएमा कानुनअनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही गरिने विभागले जनाएको छ। औषधि ऐन, २०३५ र सो अन्तर्गत बनेका नियमावलीअनुसार औषधि विक्री वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र विक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.