भारतलाई पराजित गर्नसके उपाधि जित्ने सम्भावना
भारतलाई पराजित गर्नसके उपाधि जित्ने सम्भावना
काठमाडौँ : नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ। यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन्।
कूल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो।
यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको संख्या २३ भएको अन्तरराष्ट्रिय खोखो महासंघले जनाएको छ।
पुरुष खो-खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो-खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसिएशनले जनाएको छ।
शनिवार दिउँसो २ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने नेपाली टोलीको शुक्रवार बिदाइ हुनेछ।
पुरुष र महिला दुवैतर्फ उपविजेतासम्म बन्ने सम्भावना प्रबल रहेको नेपाल खो-खो संघले जनाएको छ। चौथो एशियाली खो-खो च्याम्पियनशिपमा नेपाली पुरुष र महिला दुवै टिम दोस्रो भएका थिए। पुरुष टिम दक्षिण एशियामा पनि भारतसँग नै हारेर दोस्रो भएको थियो।
संघका अध्यक्ष प्रदीप महर्जनले एशियाली स्तरमा पनि नेपाली टोली राम्रो भएकाले भारतपछि अरु देशसँगको प्रतिस्पर्धा नेपाललाई त्यति कठिन नहुने तर्क गर्छन्।
उनी भन्छन्, ‘हामीले कीर्तिपुरस्थित कर्भडहलमा बडो संघर्षका साथ तयारी गरेका छौँ, फाइनान्सियल अभावमा तयारीका लागि बसेको टिममा समेत कठिनाइ थियो‚ त्यसका बाबजुद पनि एक महिना तयारी गर्यौँ।’
उनले पहिलो संस्करणमै विश्वकप खेल्नु गर्वको विषय भए पनि सबैले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरे।
कस्तो खेल, के खेल भन्ने सबैले बुझिनसकेकाले प्रायोजक पाउनै मुस्किल भएको उनी बताउँछन्। ‘खेलाडीलाई डाइट पनि राम्रोसँग खुवाउन सकिएन,’ उनले दुखेसो गरे, ‘तैपनि नतिजाका लागि उनीहरुले सतप्रतिशत खेल्नेछन्।’
पुरुष विश्वकप
पुरुषतर्फ नेपालले समूह ए मा प्रतिस्पर्धा गर्नेछ। यो समूहमा नेपालसँगै भारत, भुटान, पेरु र ब्राजिल रहेका छन्।
समूह ए मा बलियो रहेको भारतलाई विश्व विजेताको रुपमा हेरिएको छ। यही समूह ए मा रहेको नेपाललाई पनि प्रतियोगिताको एउटा मजबुत टोलीका रुपमा लिइएको छ।
खो-खो संघका अध्यक्ष मर्हजन नेपालले च्याम्पियनशिपका लागि प्रतिस्पर्धा गरे पनि उपविजेतासम्मको संभावना नेपालको प्रबल रहेको बताउँछन्। ‘भारत बलियो टोली छ, दावेदार पनि हो तर नेपाल पनि कमजोर पक्कै छैन,’ उनले भने, ‘उपाधि नजिते पनि नेपाल उपविजेतासम्म हुनसक्ने संभावना अधिक छ।’
उनका अनुसार यो खो-खो खेलको पहिलो विश्वकपमै सहभागी हुन लागेको नेपाललाई अलिक चुनौती दिएर रोक्नसक्नेमा बंगलादेश पनि छ। सन् २०२३ मा भारतको गुवाहाटीमा भएको एशियन च्याम्पियनशिपमा नेपाल भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो।
नेपाल समूह ए बाट कम्तिमा दोस्रो हुँदै क्वार्टरफाइनल, त्यसपछि सेमिफाइनल र त्यहाँबाट पनि अगाडि बढे फाइनलमा संभवतः भेट भारतसँग नै हुने देखिन्छ।
विश्वकपको समूह बी मा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्याण्ड्स र इरान रहेका छन्।
समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड रहेका छन्। यसैगरी समूह डी मा इंगल्याण्ड, जर्मनी, मलेशिया र केन्या रहेका छन्।
टिमका कप्तान हेमराज पनेरुले राम्रो नतिजाका लागि खेल्ने बताए। ‘प्रशिक्षकहरूले आधुनिक तरिकाले अभ्यास र प्रशिक्षण गराउनु भएको छ, प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो नै आउनेमा हामी विश्वस्त छौँ,’ उनी भन्छन्, ‘जानुअघि चर्चा नभए पनि नतिजा ल्याएर हामी चर्चा दिलाउनेछौँ।’
नेपालले उद्घाटन खेलमा आगामी सोमवार भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि समूहचरणमै आगामी मंगलवार पेरुसँग, बुधवार ब्राजिलसँग र बिहीवार भुटानसँग खेल्नेछ।
खो-खो पुरुष टिम : हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा।
पुरुष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
अर्का प्रशिक्षक : कयामुद्दिन मन्सुर
विश्वकपमा महिला टोली
विश्वकपमा नेपाली महिला टोली समूह सी मा परेको छ। यो समूहमा भुटान, श्रीलंका, जर्मनी र बंगलादेश रहेका छन्। तुलनात्मक रुपमा नेपाल सहज समूहमा परेको छ, अन्तिम ८ मा पुग्नका लागि। तैपनि बंगलादेशले नेपाललाई चुनौती दिने संभावना छ।
क्वार्टरफाइनल या सेमिफाइनलमा नेपालको भेट भारतसँग नभएको खण्डमा उपविजेतासम्मको संभावना हुनेछ भने अन्यथा त्यहीँबाट यात्रा सकिने संघका अध्यक्ष महर्जन बताउँछन्।
महिला विश्वकपको समूह ए मा भारत, इरान, मलेशिया र दक्षिण कोरिया रहेका छन्। समूह बी मा इंगल्याण्ड, अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स रहेका छन्। यसैगरी समूह डी मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इण्डोनेशिया रहेका छन्।
महिला खो-खो टिम : सरस्वती कडायत (कप्तान), मानमती धामी, पक्कूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पूनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले।
महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण वैद्य
अर्की प्रशिक्षक : उषा कवर मगर
सेफ दी मिसन : सुशीलमान व्यञ्जनकार
प्रतियोगितामा एशियाबाट नेपाल भारत, भुटान, बंगलादेश, श्रीलंका, इन्डोनेशिया, इरान, मलेशिया र दक्षिण कोरिया रहेका छन्।
अफ्रिकाबाट घाना, केन्या, दक्षिण अफ्रिका, युगान्डा तथा युरोपबाट इंग्ल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, र पोल्यान्ड रहेका छन्।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र पेरु तथा उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिका र ओसियाना क्षेत्रबाट अष्ट्रेलिया र न्युजिल्यान्डले भाग लिएका छन्।
खो-खो व्यापक रूपमा दक्षिण एशियामा खेलिन्छ र दक्षिण एशियाबाहिर दक्षिण अफ्रिका र इङ्गल्याण्ड जस्ता क्षेत्रहरूमा पनि यसको बलियो उपस्थिति छ। यो खेल “नेपाल खो-खो संघ“ नाममा दर्ता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।