भिटामिन डी, क्याल्सियम, मिथाकोलाइमिन र प्रमालिन जस्ता पूरक तत्त्व मात्र विभागमा दर्ता
भिटामिन डी, क्याल्सियम, मिथाकोलाइमिन र प्रमालिन जस्ता पूरक तत्त्व मात्र विभागमा दर्ता
काठमाडौँ : सरकारले बजारमा जथाभावी बेचिँदै आएका पौष्टिक औषधि र पोषक तत्त्वलाई नियन्त्रण गर्न सकेको छैन।
विशेषगरी पौष्टिक औषधि र पोषक तत्त्व फर्माको पियामा (औषधिको आधिकारिक विवरण भएको पुस्तिका) मा उल्लेख भएका र उपचारमा प्रयोग हुने भिटामिन तथा खनिज मिश्रित ट्याब्लेट, क्याप्सुल, झोल पौष्टिक औषधिका नाममा र औषधि मिश्रित मल्हम, क्रिम, सौन्दर्य प्रशाधन सामग्रीका नेपाली बजारमा जथाभावी विक्री वितरण हुँदै आए पनि सरकारले प्रभावकारी रूपमा यसको नियन्त्रण गर्न नसकेको हो।
नेपालमा कुनै पनि औषधि र औषधिजन्य सामग्री प्रयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने भए पनि विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्त्व र ‘ब्रान्ड’सँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी पौष्टिक औषधि तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसलमार्फत उपलब्ध गराउँदा यस्ता औषधिजन्य सामग्रीको नियन्त्रणमा समस्या भइरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको भनाइ छ।
औषधि ऐन, २०३५ र सोअन्तर्गत बनेका नियमावलीअनुसार औषधि विक्री वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र विक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ।
तर हरेक वर्ष बजारमा नयाँ नयाँ पौष्टिक औषधि, पोषक तत्त्व तथा औषधिजन्य सौन्दर्य सामग्री विभागमा दर्ता नगरी विक्री वितरण हुने गरेको गुनासो बढ्न थालेको विभागले जनाएको छ।
महानिर्देशक ढकालका अनुसार विशेषगरी भिटामिन डी, क्याल्सियम, मिथाकोलाइमिन र प्रमालिन जस्ता सप्लिमेन्ट विभागमा दर्ता भए पनि बजारमा पाइने यी बाहेकका सप्लिमेन्ट भने दर्ता छैनन्।
‘भिटामिन डी, क्याल्सियम, मिथाकोलाइमिन र प्रमालिन जस्ता सप्लिमेन्ट हाम्रोमा दर्ता छन्। यो बाहेकका त २०४९ सालमा नै प्रतिबन्ध लागेको छ तर हाम्रोमा दर्ता भएका सप्लिमेन्टको फर्मुला केही परिवर्तन गरेर नयाँ नयाँ बनाएर बजारमा ल्याइएको छ, जुन चिकित्सकले धेरै नै सिफारिस गर्छन्। त्यसैले विभागमा दर्ता भएका बाहेका सप्लिमेन्ट प्रयोग नगर्न उपभोक्तालाई आग्रह छ’‚ उनले भने।
हालै मात्र जनस्वास्थ्य कार्यालय काठमाडौँको टोलीले केही पसलहरूको अनुगमन गर्दा पनि पौष्टिक औषधि र पोषक तत्त्व बजारमा वक्री वितरण भएको पाएको थियो।
विशेषगरी बच्चा जन्मिसकेपछि आमाको दूध आएन वा पुगेन भनेर ल्याक्टोजिन ‘पोषक तत्त्व’ धेरै प्रयोग हुने उक्त अनुगमनमा पाइएको जनस्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले नयाँ बानेश्वरको किड्स पसल र टेकुको प्रकाश फार्मेसी र प्रकाश एलाइ्टसको अनुगमन गरेको थियो। त्यस क्रममा पसल तथा फार्मेसीहरूमा कानूनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको पाइएको थियो। यस्तै कतिपय वस्तुमा १ प्रतिशत छुट र राखिनुपर्ने सन्देश नभएको समेत टोलीले फेला पारेको थियो।
बच्चा जन्मिसकेपछि आमाको दूध आएन वा पुगेन भनेर ल्याक्टोजिन खुवाउनुभन्दा लिटो खुवाउन उपयुक्त हुन्छ।
फिजिसियन डा. प्रतीक पौडेलका अनुसार कहिलेकाहीँ विरामीको अवस्थालाई हेरेर पोषक तत्त्व सिफारिस गर्न मिल्ने भए सामान्य अवस्थामा पनि यस्ता पूरक पदार्थको प्रयोग गर्नु उपयुक्त नहुने बताउँछन्। ‘वृद्धावस्थामा हड्डी खिएको समयमा डिजेनेरेटिव र गर्भवती महिलामा फोलिक एसिड जस्ता भिटामिन पूरक रूपमा दिनुपर्ने भए पनि सामान्य अवस्थामा नै यस्ता वस्तुभन्दा आवश्यकतानुसार पोषणयुक्त खानेकुरा नै खान सुझाव दिनुपर्छ’‚ उनको भनाइ छ।
कतिपय स्वास्थ्य संस्थाले पौष्टिक औषधि र पोषक तत्त्व सिफारिस गर्दा विरामीको स्वास्थ्यमा जटिलता निम्त्याउने हुँदा यसमा विशेष सावधानी अपनाउन निर्देशन दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।