|

काठमाडौँ : नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आज काठमाडौँमा शुरु भएको छ।

४ वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौँमा शुरु भएको हो। 

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएका समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरवलोकनसम्मका विषय उठाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए। 

उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसाबले महत्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्वपूर्ण हुने उल्लेख गरे। 

प्रवक्ता अधिकारीले नेपाल भारतबीच केही समयदेखि व्यापा र पारवहनमा देखिका समस्याहरु समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए। 

उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेण्डा नेपालको रहेको बताए। 

उनले बैठकमा भारतीय प्रतिनिधि सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमूलक हुने आशा रहेको बताए। 

उनले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाई भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए। उनले यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेकथ्रु हुने बताए। 

बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न मागसमेत गरेका छन्। 

नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्‍याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन्। नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आज र भोलि हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.