|

काठमाडौँ : २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सरकारको चर्को आलोचना भयो। सरकारले नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भए।

त्यसो त नेपालको शैक्षिक गुणस्तरमै प्रश्न उठ्यो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा आउँदो कक्षा-१० को एसइईको नतिजा ७० प्रतिशतसम्म पुर्‍याउने घोषणा गर्दै यसका लागि नीतिगत पहल सुरु भएको बताउन थाले। उनले यसरी बताउन थालेको चार महिना बितिसकेको छ।

गत असोज २ गते राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रममा उनले भनेका थिए, ‘अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गरी ७० प्रतिशतसम्म पुर्‍याउने काम थालिएको छ। समयानुकूल शिक्षातिर अघि बढ्नुपर्नेछ। हामीले एउटा नयाँ अठोट लिएका छौँ। आगामी दिनमा शिक्षा जीवनोपयोगी‚ ज्ञान सीपसँग जोडिएको होस्, हाम्रा नयाँ पुस्ताका बालबालिका अक्षम छैनन्, पढ्न नसक्ने नजान्ने छैनन्।’

उनै प्रधानमन्त्री ओलीले गत भदौ १४ गते पनि काभ्रेपलाञ्चोकस्थित काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताएका थिए।

एसइई परीक्षा नजिकिदै

यो वर्षको एसइई परीक्षा नजिकिदै छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को (एसइई) परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। उक्त हिसाबले अब एसइई परीक्षा आउन बढीमा दुई महिना मात्रै बाँकी छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले उक्त परीक्षामा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला गरिसकेको छ। पुस १२ गते जारी भएको सूचनानुसार शैक्षिक सत्र २०८१ मा कक्षा-१० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले पुस १२ देखि माघ १२ गतेभित्र प्रतिपरीक्षार्थी परीक्षा दस्तुर पाँच सयसहित आवेदन फाराम भर्नुपर्ने छ। 

तयारीबारे यसो भन्छिन् शिक्षामन्त्री

शिक्षामन्त्री विद्या भट्टराईले एसइई परीक्षामा ७० प्रतिशत उत्तीर्णदर पुर्‍याउन मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी दिइन्।

बिहीवार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको शिक्षामन्त्रीसँग साक्षात्कार कार्यक्रममा उनले भनिन्, ‘यसका लागि पहिला त सिकाइलाई सुधार गर्नैपर्छ। त्यसैले सानो कक्षादेखिको क्लास नै सुधार्नुपर्छ। त्यो हुँदै छ, अर्को एउटा सिष्टमको विकास गर्दै छौँ, जसमा शिक्षक, विद्यार्थीहरूले आफैंलाई मूल्यांकन गर्न दिइनेछ। यसले पनि नतिजामा सुधार हुन्छ। यसका लागि परीक्षा बोर्डले काम गरिरहेको छ, सुझाव लिइरहेको छ, चार सय पालिकामा छलफल सकियो भन्ने जानकारी आएको छ।’

उनका अनुसार कसरी एसइई परीक्षा नतिजा सुधार गर्न सकिन्छ भनी विज्ञ,सरोकारवाला निकायहरूद्वारा छलफल चलाइँदै आएको छ। उनीहरूले दिएको सल्लाह सुझावअनुसार थप अघि बढ्ने उनको भनाइ छ। ‘प्राक्टिकल र थ्योरीलाई जोड्ने भन्ने अहिले नै पुगेका छैनौँ, अब सुझाव आएपछि मात्रै यस विषयमा टुंगो लाग्छ’‚ उनले भनिन्।

सरकारले शिक्षाका लागि ‘एम्बिसन गुरु’सँग पनि सहकार्य गरेको छ। उक्त नामक मोबाइल एपमार्फत अहिले विद्यार्थीहरूले एसइई परीक्षा के कसरी दिने भन्ने पूर्वतयारी, प्रेरणा जगाउने लगायत आवश्यक विषयहरू अनलाइन कक्षाबाट सिकाइरहेको छ। शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि एसइई नतिजा सुधार गर्न काम गरिरहेको जनाएको छ।

विकास केन्द्रका अनुसार एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गर्दै तालिम प्राप्त शिक्षकहरूबाट पठनपाठन गरिएका नेपाली, विज्ञान, गणित, अङ्ग्रेजी, र सामाजिक विषयका भिडियो पाठ युट्युब च्यानलमा राखेको छ। त्यसबाट पनि विद्यार्थीहरूले धेरै ज्ञानहरू सिक्न पाउनेछन्।

उनीहरूले जुनसुकै पाठहरू निःशुल्क डाउनलोड गरी हेर्न र सुन्न सक्ने व्यवस्था मिलाइएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.