-जेनी ढुङ्गाना
चारवटा सिंग भएको मृग (Tetracerus quadricornis) लाई नेपालीमा चौका वा चौसिंगा भनिन्छ। यो नेपाल र भारतको दक्षिणी भागमा पाइने दुर्लभ प्रजाति हो। यो प्रजाति नेपालका पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा पाइन्छ।
नेपालमा हाल यसको संख्या करिब १०० को हाराहारीमा रहेको अनुमान गरिएको छ तर यस प्रजातिको वास्तविक संख्या र अवस्थाबारे अद्यावधिक तथ्यांक अभाव भएकाले यसलाई नेपालमा स्तनधारी जनावरहरूको रातो सूचीमा ‘डेटा अभाव" (Data Deficient) श्रेणीमा राखिएको छ। चौसिंगालाई आईयूसीएनको रेड सूचीमा ‘असुरक्षित’ (Vulnerable) प्रजातिका रूपमा वर्गीकरण गरिएको छ।
यसको आयु ८ देखि १० वर्षको हुन्छ। भाले चौसिंगा मृगको टाउकोमा चारवटा सिंग हुने भएकाले यसलाई चौका वा चौसिंगा भनिएको हो। चौसिंगा प्रजाति आर्टियोड्याक्टिला (Artiodactyla) अर्डर र बोभिडे (Bovidae) परिवारमा पर्छ। यसको शरीर खैरोदेखि रातो रंगसम्म हुन्छ। यसको उचाइ ०.६५ मिटर र तौल करिब १५ देखि २५ किलोग्राम हुन्छ। चौसिंगा मृगको गर्भधारण अवधि ७.६ देखि ८.१ महिना सम्म हुन्छ। यस प्रजातिलाई भारी मात्रामा वासस्थान गुमाइरहेका कारण संरक्षित जनावर घोषणा गरिएको छ।
चारसिंगे मृगको संरक्षणका लागि सरकारले प्रयास गरे पनि यस प्रजातिलाई जाेगाउन धेरै चुनौती देखिएको छ। बसोवास क्षेत्रको विनाश प्रमुख समस्या हो। चारसिंगे मृग सुक्खा पर्णपाती जंगल र घाँसेमैदानमा बसोवास गर्छ तर ती क्षेत्रहरू कृषि, शहरीकरण र वन फँडानीका कारण सीमित हुँदै गएका छन्। अवैध शिकार पनि अर्को ठूलो चुनौती हो। यसका अंगहरू बेच्ने उद्देश्यले चोरी शिकार गरिन्छ। यस्तै मानव-वन्यजन्तु द्वन्द्वले पनि यसको अस्तित्वमा खतरा पुर्याइरहेको छ।
चौसिंगालाई नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसूची–१ मा राखेर कानूनी रूपमा संरक्षित गरिएको छ। संरक्षित क्षेत्रहरूको स्थापना, अवैध शिकार नियन्त्रणका लागि गस्ती टोली परिचालन र जनचेतना कार्यक्रम सञ्चालन गरिएका छन्।
यद्यपि यी प्रयास पर्याप्त छैनन्। सीमित स्रोतसाधन, जनशक्ति अभाव र स्थानीय समुदायसँगको कमजोर समन्वयले संरक्षणका प्रयासमा चुनौती खडा गरिरहेको छ। भविष्यमा चारसिंगे मृगको संरक्षणका लागि थप प्रयास आवश्यक छ।
संरक्षणका लागि के गर्ने ?
पहिलो : यस प्रजातिको वास्तविक संख्या, वितरण र बसोवास क्षेत्रबारे थप अध्ययन र अनुसन्धान गर्नुपर्छ।
दोस्रो : स्थानीय समुदायलाई संरक्षणमा प्रत्यक्ष सहभागी गराउँदै जनचेतना कार्यक्रम विस्तार गर्नुपर्छ।
तेस्रो: अवैध सिकार नियन्त्रण गर्न कानूनी व्यवस्थालाई थप कडा बनाउनुपर्छ।
चौथो : मानव-वन्यजन्तु द्वन्द्व कम गर्न र चारसिंगे मृगका लागि उपयुक्त बसोवास क्षेत्र पुनःस्थापन गर्न वन पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
यसरी नेपालको जैविक विविधताको महत्त्वपूर्ण हिस्सा रहेको चारसिंगे मृग संरक्षणका लागि सरकारी र गैरसरकारी संस्थाहरूबीच सहकार्य आवश्यक छ। स्रोत व्यवस्थापन र प्रभावकारी रणनीति अवलम्बन गर्न सके यो प्रजातिको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न सकिन्छ। चारसिंगे मृगलाई जोगाउन सरकारले मात्र होइन, सम्पूर्ण समुदायले आफ्नो भूमिका खेल्नुपर्ने समय आएको छ। (ढुङ्गाना वन विज्ञान संस्थान, पोखरा क्याम्पस, पोखराकी विद्यार्थी हुन्)
तपाईंको ईमेल गोप्य राखिनेछ ।