काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर ०८७ सम्म प्रधानमन्त्री रहिरहने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले यस्तो आशंका व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले ०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताए। उनले संसद भंग गरेर ठेलेको ठेल्यै गरी ०८७ सम्म सरकारमा बस्ने चाहना प्रधानमन्त्री ओलीले गरेको हुनसक्ने आशंका जनाए।
‘समाजवादी मोर्चालाई कसरी फेरि पुनःजागृत गर्ने, पुनः क्रियाशील बनाउने भन्ने विषयमा नै केन्द्रित थियो। यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरु- नेकपा एकीकृत समाजवादी, माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं‚’ उनले भने, ‘संविधान संशोधनको कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हट्नुभयो भन्ने आइरहेको छ। २०८७ सम्म बस्ने उहाँको चाहना होला। ०८७ सम्म चुनाव नै नगरी बस्ने हो कि! संसद नै भंग गर्ने मान्छेले संसद भंग गरेर ठेलेको ठेलेकै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन।’
उनले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हटेको सुनेको भन्दै जनताको सुविधामा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।