काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देश विकासका लागि सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन्।
शुक्रवार नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको चौथो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले समाजमा युवाहरू नेपालमा बस्न नचाहेको भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताए। उनले युवा पलायन रोक्न जिम्मेवारी नलिने तर समाजमा भ्रम सिर्जना गर्नेहरूबाट सचेत हुनुपर्ने बताए।
उनले अधिकारको कुरा ठूलोठूलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछि हट्ने प्रवृत्तिको कारण समाज अगाडि बढ्न नसकेको बताए।
सिंहले भने‚ ‘खासगरी युवाहरू नेपालमा बस्न चाहिरहेका छैनन् भनेर भाष्य निर्माण गरिएको छ। यो समस्या समाधान गर्न सबैले जिम्मेवार भएर गर्न सक्नुपर्यो नि। अधिकारको कुरा ठूलठूलो स्वरले उठाउने तर जिम्मेवारीको कुरा आउँदा सबै पछिपछि हट्ने अनि कहाँबाट समाज अगाडि बढ्छ? मुख्य कुरा के हो भन्दा अधिकारको कुरा सँगसँगै जिम्मेवारी बहन गर्नुपर्छ।’
मुलुकको विकासका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा उनको जोड छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।