|

काठमाडौँ : एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका आज सार्वजनिक गरिएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ। 

एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ। 

राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष ४ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्। लिगका शीर्ष २ टिमले माघ १४ गते पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेता सीधै फाइनलमा पुग्नेछ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै एलिमिनेटरमा खेल्नेछन्, जसको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ। 

पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरको विजेताबीच माघ १६ गते हुने दोस्रो क्वालिफायरमा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ।

फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ। एनकेएलमा दैनिक एउटा वा २ खेल सञ्चालन गरिने जनाइएको छ। 

२ खेल हुँदा दिनको पहिलो खेल साँझ साढे ५ बजे शुरु हुनेछ भने त्यसपछि दोस्रो खेल साढे ६ बजे प्रारम्भ हुनेछ।

एउटामात्र खेल भएको दिन भने प्रतिस्पर्धा साँझ साढे ६ बजे प्रारम्भ हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.