काठमाडौँ : पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको पुल भासिएपछि (भाँचिएपछि) तीनवटा अस्थायी रुटमार्फत गाडी पठाउन थालिएको छ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले तीनवटा रुट प्रयोग गरेर गाडी पठाउन थालिएको थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार पहिलो रुट दुम्किबासबाट होङ्सी गेट हुँदै बढी घुम्नुपर्ने रहेको र उक्त सडकबाट साना सवारीसाधनलाई पठाइएको छ।
दोस्रो रुट ज्यामिरेबाट गुम्बा निस्कने रहेको ५ किलोमिटरको रुट रहेको र त्यसबाट ठूला सवारीसाधनलाई पठाउन थालिएको छ। अर्को पुल नजिकैबाट खोलामा अस्थायी डाइभर्सन गरिएको रुट छ, त्यो रुटमा अत्यावश्यक र छिटो जानुपर्ने सवारीसाधनलाई पठाइएको छ।
उनले अहिले जाम भएका सवारीसाधनलाई तत्कालै खुला गर्नका लागि यी तीनवटा रुट अस्थायी रुपमा प्रयोग गराइएको र जाम सकिएपछि भने खोलाबाटै डाइभर्सन व्यवस्थित पारेर पठाइने पनि जानकारी दिए।
आज साँझ पूर्वी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलाको पुल साँझ ५ बजेतिर भासिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।