काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश रित्तो हुने भयो भन्ने भाष्य नबनाउन आग्रह गरेका छन्।
शनिवार काठमाडौँमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले पनि दक्ष जनशक्ति नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार गरिरहेको पनि चर्चा गरे।
उनले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताए। उनले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा सम्प्रेषण गर्न नहुने बताए। युवा देशभित्र बस्ने वातावरण बनाउनुपर्ने बताए।
उनले भने, ‘यति ठूलो जनशक्ति देशभित्र आत्मविश्वासका साथ रहनुभएको छ। सबै क्षमतावान् व्यक्ति हुनुहुन्छ। अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ। यसलाई नकारात्मक भाष्यका रूपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रूपमा अघि बढाएका छौँ। बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ। यो विश्वव्यापीकरणको परिणामको रूपमा भइरहेको छ। यसमा चिन्ता गर्नुपर्ने छैन। यसमा नेपालले के फाइदा लिनसक्छ त्यसमा ध्यान दिनुपर्छ।’
पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।