पुष्पसदन, अन्नपूर्ण र त्रियोगको राम्रो शुरुवात

|

ललितपुर : कीर्तिपुरमा अवस्थित पुष्पसदन आवासीय माविद्वारा आयोजित पुष्पसदन अन्ताराष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबार शुरु भएको छ।

भारतका ९ जना विद्यार्थीसहित देशभरका गरी २५० विद्यार्थीले प्रतिस्पर्धा गरिरहेको सो च्याम्पियनसिपको पुष्पसदन विद्यालयका प्रमुख, शिक्षक र चेस संघका प्रतिनिधिहरूले संयुक्त रूपमा उद्घाटन गरेका थिए। 

तीनदिने प्रतियोगितामा यु–११, यु –१३ र यु –१५ छात्र तथा छात्रा, तीन अलग-अलग समूहमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक एवं सीम तथा एफटी केशव श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार पहिलो दिनको दोस्रो राउन्ड समाप्तिसँगै पुष्पसदन आवासीय माध्यमिक विद्यालय, अन्नपूर्ण मावि, त्रियोग हाइस्कुल, स्वस्तिश्री गुरुकुल लगायत विद्यार्थीहरूले राम्रो खेल प्रदर्शन गरेका छन्। भोलि तेस्रो, चौथो र पाँचौँ राउन्ड खेल हुनेछ भने खेल बिहान १० बजे शुरु हुनेछ। 

सोमबार अन्तिम २ वटा फाइनल राउण्डका खेल हुने प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिए। 

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समूहका उत्कृष्ट १० खेलाडीलाई प्रमाणपत्र र पदक दिइने विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार उत्कृष्ट तीन विद्यालयलाई पहिलो, दोस्रो र तेस्रो छनोट गरी ट्रफी पनि प्रदान गरिनेछ।

बुद्धिचाल प्रतियोगितालाई अन्ताराष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले छिमेकी राष्ट्रका केही विद्यालयलाई समेत आमन्त्रण गरिएको थियो। जसमा सिक्किमबाट ३५ जना खेलाडीको सहभागी छन्। 

पहिलो दिन जुनियर समूहका विद्यार्थीको सहभागिता उल्लेखनीय वृद्धि भएको पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए। ‘यो प्रकारको प्रतियोगिताले नेपालमा चेस खेलको लोकप्रियता बढाउने र युवा पुस्तामा चेसप्रति रुचि बढेको देखिन्छ’, उनले भने, ‘यस प्रतिस्पर्धाले विद्यार्थीलाई मानसिक क्षमता र रणनीतिक सोचको विकासमा मद्दत पुर्‍याउने उद्देश्य राखेको छ।’

प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको पुष्पसदन विद्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.