काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सयभन्दा बढी काम समस्याग्रस्त भएको बताएको छ।
शनिवार काठमाडौँमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीको भुक्तानी नदिँदा २ सयभन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सयभन्दा बढी निर्माण ठेक्का समस्याग्रस्त हुने स्थिति रहेको बताए।
उनले लामो समयदेखि निर्माणको भुक्तानी माग गरे पनि सरकारले नदिएको बताए। उनले गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गरे। यो वर्ष गर्नुपर्ने भुक्तानीको विनियोजित बजेट पनि विनियोजन नहुँदा निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए।
सिंहले भने, ‘लामो समयदेखि प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू लगायतलाई जानकारी गराउँदा पनि गत वर्षकै भुक्तानी पूर्ण रूपमा गर्न असक्षम भएको छ। यसबाट समग्रमा निर्माण क्षेत्र अस्तव्यस्त भएको छ। उहाँहरूले समयमा भेरिफिकेसन नगरेकाले २ सयभन्दा बढी काम समस्याग्रस्त भएको छ।’
अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निष्कर्ष निकाल्न राष्ट्रिय भेला आयोजना गरेको बताए। उनले सिमेन्ट र डन्डी लगायतका निर्माण सामग्रीमा भएको कालोबजारीको कसरी विरोध गर्ने भन्ने निष्कर्षका लागि पनि भेला बोलाइएको बताए। भेलामा सात प्रदेश र ७७ जिल्लाकै निर्माण व्यवसायी उपस्थित छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।