महाकुम्भलगायत अपराध नियन्त्रणबारे छलफल
महाकुम्भलगायत अपराध नियन्त्रणबारे छलफल
नेपालगञ्ज : नेपाल-भारतका सीमा जोडिएका जिल्लाहरुका सुरक्षा अधिकारीको समन्वय बैठक सीमावर्ती भारतीय शहर बहराइचमा बसेको छ।
बहराइचका डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) को कार्यालयले आयोजना गरेको उक्त बैठकमा बहराइच र नेपालको बाँके र बर्दिया जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी रहेका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार यही माघ संक्रान्तिदेखि भारतमा हुन लागेको महाकुम्भ मेलाको तयारी र सुरक्षालगायत भारतको गणतन्त्र दिवस (२६ जनवरी) का अवसरमा हुने कार्यक्रमको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै बैठकमा विभिन्न विषयमा छलफल भएको थियो।
बैठकमा सीमा क्षेत्रमा भइरहेका लागुऔषध ओसारपसार, मानव बेचबिखन, वन्यजन्तु र वन पैदावर चोरी तस्करीलगायत अन्य आपराधिक गतिविधि रोकथाम र निराकरणका उपायसम्बन्धमा समेत विस्तृत छलफल भएको थियो।
दुवै देशका अधिकारीले सीमा अपराध रोकथामका लागि समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन बैठकमा विशेष योजना प्रस्तुत गरेका थिए। मानव बेचबिखन र लागुऔषध तस्करीजस्ता अन्तरराष्ट्रिय अपराध रोक्न सीमा सुरक्षा अझ सुदृढ पार्ने सहमति उक्त बैठकमा गरिएको छ।
बैठकमा वन्यजन्तु र वन पैदावारको अवैध तस्करी रोक्न दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान बलियो बनाउनुका साथै सीमा क्षेत्रको सुरक्षालाई थप व्यवस्थित र प्रविधियुक्त बनाउने कुरामा विशेष जोड दिइएको थियो।
बैठकमा नेपालबाट बाँकेका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, बर्दियाका प्रजिअ रुद्रा शर्मा, बर्दियाका प्रहरी प्रमुख एसपी केदार खनाल, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी विमल डाँगी, सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाका प्रमुख एसपी चित्रांग दाहाल, बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारी, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप बुढाथोकी र जमुनाहा नाका प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथाकी सहभागी रहेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।